साउदी अरेबियाले ल्याएको श्रम कानूनबारे श्रममन्त्री श्रेष्ठको चासो
काठमाडौं, ६ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरेबियाको श्रम कानूनबारे चासो राख्नु भएको छ ।
नेपालका लागि साउदी अरेबियाका राजदुत मुसैद वीन सुलेमान अल मार्वानीले गर्नुभएको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले साउदी अरेबियाको श्रम कानूनबारेमा चासो लिनुभएको हो ।
मन्त्रालयमा सोमबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–साउदी अरेबियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको जनाएको छ ।
शिष्टाचार भेटका अवसरमा मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारसँग प्रकृयामा रहेको द्विपक्षीय श्रम सम्झौतालाई तार्किक निष्कर्षमा पुर्याउन समन्वयका लागि समेत राजदूत अल मार्वानीसँग आग्रह गर्नुभयो ।
मन्त्री श्रेष्ठले नेपालमा पनि सिप परिक्षण परियोजना कार्यन्वयनका लागि राजदैूतमार्फत साउदी अरेबिया सरकारसमक्ष आग्रह गर्नुभयो ।
नेपालबाटवैदेशिक रोजगारीमा गएकामध्ये २० प्रतिशत जनशक्ती साउदी अरेबियामा रहेको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रमा साउदी अरेविया सरकारले नेपाललाई प्रदान गरेको अवसरको लागि धन्यवाद दिनुभयो ।
साउदी अरेवियाबाट आर्जन गरेको आर्थिक, सामाजिक र प्राविधिक पुँजीबाट धेरै नेपाली लाभान्वित भएको भन्दै मन्त्री श्रेष्ठले निर्माण, अतिथि सेवा र अन्य सेवाबाहेक प्रविधिमा आधारित उद्योगमा पनि नेपाली श्रमिकहरु काम गर्न इच्छुक रहेको बताउनुभयो ।
राजदुत अल मार्वानीलेद्विपक्षीय श्रम सम्झौता छिटो सम्पन्न गर्न साउदी अरेबिया तयार रहेको बताउनुभयो । साउदी अरेबियाले हालै ल्याएको श्रम कानुनले श्रमिकहरुको समस्या सम्वोधन गर्ने उहाँले बताउनुभयो ।
नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कुटनीतिक सम्वन्ध स्थापना भएको हो ।