वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा बालपोषण कार्यक्रम संचालन
वीरगन्ज, २० जेठ । वीरगन्ज महानगरपालिकाले नगर भित्रका ३२ वटै वडाहरुमा बालबालिकाको शारिरिक र मानसिक विकासका लागि वाल पोषण कार्यक्रम संचालन गरेको छ । महानगरका ६ महिना देखि लिएर २३ महिना सम्मका ८ हजार २ सय ३० बालबालिकाहरुको शारीरिक र मानसिक विकास बढाउने बाल पोषण कार्यक्रम संचालन गरेको हो ।
यस कार्यक्रम अन्तर्गत पहिलो चरणमा बिहीबारदेखि सबै वडाहरुमा पौष्टिक आहार वितरण गरिएको छ । महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बालबालिकाहरुलाई बिहीबार पौष्टिक आहार वितरण गरेर कार्यक्रमको उदघाटन गर्नुभयो । बिहीबारदेखि शुरु भएको कार्यक्रममा करिब २४ हजार ६ सय ९० किलो पौष्टिक आहार बच्चाहरुको लागि वितरण गरिने महानगरपालिकाले जनाएको छ ।
त्यस्तै दोस्रो चरणमा २७ हजार ६ सय ९० किलो पौष्टिक आहार वितरण गरिने महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले बताउनुभयो । महानगरपालिका पूर्ण खोप घोषणा हुने नजिक पुगेको जानकारी दिदै वीरगंजका सबै बालबालिकाहरुमा खोपको पहुँच पु¥याएर पूर्ण खोप घोषणा गर्ने तयारी पनि रहेको उहाँले बताउनुभयो ।
पौष्टिक आहार वितरण कार्यक्रममा महानगर प्रमुख सरावगी सहित महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुण कुमार महतो लगायतको उपस्थिति रहेको थियो ।