वीरगन्जमा बंगाली समुदाय संगठित
वीरगन्ज, २० असोज । वीरगन्जमा बसोवास गर्ने बंगालीभाषी नेपालीहरु संगठित भएका छन् । वीरगन्जमा भएको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज गठन गरेको छ ।
मंगलावर वीरगन्ज १० माइस्थान–घडिअर्वा मार्गमा रहेको दुर्गामन्दिरको प्राँगणमा समाजका केन्दीय अध्यक्ष पार्थो सरकारको प्रमुख आतिथ्यता र प्रदेश २ संयोजक बिमलचन्द सरकारको अध्यक्षतामा बसेको भेलाबाट नेपाल राष्ट्रिय बंगाली समाज, पर्साको तदर्थ समिति गठन भएको समितिका सचिव डा. चन्दन बेनर्जीले जानकारी दिनुभयो ।
व्यावसायी संदीप बेनर्जीको अध्यक्षतमा गठन भएको समितका उपाध्यक्ष कुशल गोहो ठाकुर, कल्पना दास अर्का सचिव दिलिप राउत र कोषाध्यक्ष रेणु राउत रहेका छन् । त्यसैगरी सदस्यहरुमा मिहिरचन्द्र अधिकारी, डा. गोबिन्दकुमार साह, मोहनकुमार मण्डल, कृष्णकुमार दास, अमरदीप सरकार, रुद्र हल्दर, सुमना बेनर्जी र निलोय मजमुदार रहेका छन् ।
नेपालमा लाखौंको संख्यामा बंगालीभाषीहरु पुस्तौंदेखि बसोवास गरे पनि संगठित नभएको कारण बेग्लै पहिचान स्थापित हुन नसकेको केन्द्रीय अध्यक्ष सरकारले बताउनुभयो ।
राष्ट्रिय जनगणना २०७८ मा आफ्नो थर मात्र उल्लेख नगरेर समुदायको रुपमा बंगाली लेख्न आफुहरुले नेपाली बंगालीहरुलाई अह्वान गरेको उहाँले बताउनुभयो । संगठित भएपछि अल्पसंख्यकको रुपमा आफूहरुको पहिचान, भाषा र संस्कृतिको जगेर्नाका लागि सहयोग पुग्ने बताएका छन् ।