मतदान कसरी गर्दा बदर हुदैन ?

मतदान कसरी गर्दा बदर हुदैन ?

वीरगन्ज, २८ बैशाख । निर्वाचन आयोगले आज र भोलि सबै मतदातालाई मतदान गर्ने तरिका सिकाउदै छ । मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि पर्सि बिहान ७ देखि बेलुका ५ बजेभित्र मतदान गर्न आउन आग्रह गरिने निर्वाचन आयोगले जनाएको छ ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानु  पर्नेछ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा  कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ । गोप्य मतदान कक्षसँगै राखिएको स्वस्तिक छाप लिई आफूले रोजेको उम्मेदवारको चिन्हमा रहेको कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्दछ ।

मतपत्रमा मत सङ्केत गरे छि मतपत्रलाई राम्ररी पट्याई मत पेटिकामा खसाल्नुपर्छ । मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ । मतपत्रको छैठौँ र सातौँ लाइनबाट दुई जना वडासदस्य पदमा निर्वाचित गर्नुपर्नेमा उम्मेदवार भएको वा नभएको चुनाव चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएमा पनि त्यो मत बदर हुन्छ ।

स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा पनि मत बदर हुन्छ । यस्तै, दुईवटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिन्ह रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा पनि  मत बदर हुने आयोगले जनाएको छ ।