भारतमा कोरोना संक्रमण दर बढेपछि खोप निर्यातमा रोक लगायो
ट्र्ब्यिून न्युज
वीरगन्ज, १२ चैत । भारतमा कोरोना संक्रमणको दोश्रो लहर शुरु भएर संक्रमितको संख्या बढेपछि अरु देशमा कोरोना भ्याक्सिन निर्यात गर्न रोक लगाएको छ । भारतमा कोरोनाको नयाँ लहर शुरू भएको छ । अक्स्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशील्ड भ्याक्सिन निर्यातमा भारतले रोक लगाएको हो । भारतको विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेअनुसार भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकाले तत्काललाई भ्याक्सिन निर्यात रोकिएको हो ।
त्यहाँ दिनहुँ ५० हजार हाराहारीमा संक्रमित भेटिइरहेका छन् । अहिले भारतभर कोरोना विरुद्धको भ्याक्सिन माग भइरहेको छ । त्यसैले अब अप्रिल महिनाको अन्त्यसम्म नै भारतले अन्य देशमा भ्याक्सिन पठाउने छैन ।भारतले निर्यात रोक्दा कोभ्याक्स योजनाअन्तर्गत खोप प्राप्त गर्ने नेपाल सहितका १ सय ९० देशमा असर पर्नेछ । अविश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेतृत्वमा कोभ्याक्स अन्तर्गत सबै देशमा भ्याक्सिन उपलब्धता सुनिश्चित गर्ने लक्ष्य छ । भारतले अहिलेसम्म ७६ देशमा करिब ६ करोड डोज भ्याक्सिन पठाइसकेको छ ।
अप्रिल १ तारिखदेखि भारतले ४५ वर्षभन्दा माथिका सबैलाई खोप लगाउने निर्णय गरेको छ। त्यसैले अन्य देशमा खोप नपठाएको हुनसक्ने आंकलन गरिएको छ। भ्याक्सिन बनाउने भारतीय कम्पनी सीरम इन्स्टिच्यूट अफ इन्डियाले भने खोप निर्यातमा रोक लगाएको बारे कुनै आधिकारिक जानकारी दिएको छैन । तर, बेलायत, ब्राजिल, साउदी अरब र मोरक्को पठाउन लागिएको खोप तत्काललाई रोकिएको छ ।