पर्सामा सशस्त्र प्रहरीको ६ वटा बिओपीको एकैदिन उदघाटन 

पर्सामा सशस्त्र प्रहरीको ६ वटा बिओपीको एकैदिन उदघाटन 

वीरगन्ज, ४ असोज । भारतसंग जोडिएका पर्साका सीमावर्ती क्षेत्रमा सोमबार एकै दिन सशस्त्र प्रहरीका ६ वटा वोर्डर आउट पोष्ट बिओपीको उदघाटन गरिएको छ ।

पर्साको ११७ किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्थापना गरेको वोर्डर आउट पोष्टहरुको सोमबार सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले उदघाटन गर्नु भएको छ ।

पर्साको ठोरी, ब्रह्मनगर, सुवर्णपुर, भिस्वा, पकाहामैनपुर र अमरपट्टीमा स्थापना गरिएका बीओपीहरुको आज एकै दिन उद्घाटन गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र  प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

यसअघि पर्सामा नौ वटा वोर्डर आउट पोष्टको स्थापना गरिसकिएको छ । सोमबार उद्घाटन गरिएसंगै पर्सामा सशस्त्र प्रहरीको बिओपीको संख्या १५ पुगेको छ ।

सशस्त्र प्रहरीको बिओपी थपले सीमाक्षेत्रमा हुने चोरी, तस्करी, अवैध व्यापार नियन्त्रण तथा सीमा सुरक्षामा थप बल पुग्ने सशस्त्र प्रहरी बल प्रदेश २ छिन्नमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रपकाश गौतमले बताउनुभयो ।