पर्साका १३३ सहित १९० जना नयाँ कोरोना संक्रमित थपिए
वीरगन्ज, २२ बैशाख । वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर र एण्टिजेण्ट परीक्षणबाट पर्साका १३३ सहित १९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको २८८ वटा नमूना स्वाबको नाराणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर र एन्टिजेण्ट परीक्षणमा पर्साका १३३, बाराका ४१, सर्लाहीका ७, रौतहटका ५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।
त्यस्तै महोत्तरी, धनुषा, सप्तरी र बाँकेका नेपालगञ्जका एक एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो । उहाँका अनुसार १७५ जनाको पीसीआर परीक्षणबाट र १५ जनाको एन्टिजेण्ट विधिबाट परीक्षण गर्दा १९० जनामा कारोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा ५ बर्षदेखि ७० बर्ष उमेर समूहका १३३ पुरुष र ५७ महिला रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवका अनुसार, कोरोना भाइरस संक्रमणको दोश्रो लहर शुरु भए यता गत चैत १५ देखि बैशाख २० सम्म पर्सा जिल्ला घर भएका १ हजार ७ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ । यसमा १३३ जना नयाँ कोरोना संक्रमित थप भएको छ । श्रीवास्तवका अनुसार, वीरगन्जका विभिन्न अस्पतालमा हाल १ सय ६७ जना संक्रमित उपचाररत छन् ।
नारायणी अस्पतालमा ९३ जना , नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको कोभिड अस्थायी अस्पतालमा ३५ जना , बयोधा अस्पतालमा १६ जना , वीरगन्ज हेल्थ केयर हस्पिटलमा १५ जना र गण्डक हस्पिटलमा ८ जना संंक्रमित उपचाररत छन् ।