नारी दिवसमा नारीकै छैन जागरुकता 

नारी दिवसमा नारीकै छैन जागरुकता 
नारी दिवसमा आयोजित वीरगन्जको घण्टाघरमा सहभागीहरु

ट्रिब्यून न्यूज
वीरगन्ज, २४ फागुन । हरेक बर्ष अंग्रेजी महिनाको मार्च ८ तारिकका दिन मनाईने अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउन महिलाहरुकै जानगरुकता कम देखिएको छ । नारीसम्बन्धित साझा समस्या साझा भएपनि नारीहरुले आस्था र विचारका आधारमा छिन्न भिन्न भएर दिवस मनाउँदा नारीहरुमा जागरुकताको कमी भएको हो । राज्यको तर्फबाट नारी दिवसमा नारीहरुलाई विदा दिएर सम्मान गरेको भएपनि आजको दिनलाई विशेष रुपमा मनाउनलाई भने कुनै स्थानीय तहले तदारुकता देखाएको पाईएन ।

संविधानको धारा ३८ मा महिलाको हकलाई सुनिश्चित गरिएपनि नेपाल समाजमा त्यो व्यावहारिक कार्यान्वयनमा भने निकै चुनौती देखिएको छ । नेपाली समाजको बनोट, यहाँको सभ्यता र संस्कृतिको नाममा पनि महिलाहरुले नारी दिवसमा समेत खुलेर आउने आँट र साहश गरेको पाईएन । सोमबार बिहान घण्टाघरमा आयोजना गरिएको कार्यक्रममा महिलाहरुको सहभागिता अत्यन्त न्यून देखियो ।

महिलाहरु अधिकारको कुरा गर्ने तर, त्यसको लागि अगाडि आउन भने नखोज्ने प्रवृत्तिले महिलाको अधिकार प्राप्तीमा नै समस्या र चुनौती देखा परेको छ । अन्तराष्ट्रिय नारी दिवसमा समेत महिलाहरुको उपस्थिति न्यून हुन निकै दुर्भाग्य रहेको र यसले नेपालको सामाजिक संरचनालाई पनि चित्रण गरेको नेपाली कांग्रेस पर्साकी सहसचिव किरण सरकारले बताउनुभयो ।

उहाँले स्थानीय तहहरुले स्वःस्फुर्त रुपमा कार्यक्रम आयोजना गर्नुपर्ने भन्दै वीरगन्ज महानगरपालिकाको ३२ वटाबाट २ जनाको संख्यामा पनि महिला उपस्थित नहुनु दुखद भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “महिलाहरु आफै सहभागिता नजनाउने अनि सधैं पितृसतात्मक समाज र पुरुष प्रधान समाज मात्रै भनेर पुरुषलाई दोष दिनु राम्रो नभएको बताउनुभयो । महिलाले आफ्नो लागि आफै उपस्थित हुन नसक्नु नै कमजोरी भएको बताउनुभयो ।

नारी दिवसमा पुरुष पदयात्रा तथा सडक नाटक प्रदर्शन 


अन्तराष्ट्रिय नारी दिवसको अवसरमा वीरगन्जमा आज पुरुष पदयात्रा र सडक नाटक प्रदर्शन भएको छ । विभिन्न संघ संस्थाहरुको आयोजनामा वीरगन्जमा भेला भएका पुरुषहरुको पदयात्रा घण्टाघरदेखि माईस्थान, आदर्शनगर, घडिअर्वा हुदै पुनः घण्टाघरमा आएर कोणसभा गरी सम्पन्न भएको छ ।

कोणसभामा बोल्ने वक्ताहरुले नारी पुरुषको बराबर अधिकार र कर्तव्य भएकोले दुवैले समान अधिकार पाउनुपर्नेमा जोड दिए । नेपालको सामाजिक संरचनामा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा अझैपनि परिवर्तन आउन नसक्दा महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको भन्दै त्यसको अन्त्यका लागि सबै मिलेर लाग्नुपर्ने बताए । कार्यक्रममा वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, बालअधिकारकर्मी वृजकिशोर पटेल, दिव्य युवा क्लबका अध्यक्ष रामाकान्त पटेल लगायतले कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रमको संचालन युवालयका जया साहले गर्नुभएको थियो ।

यस्तै कोणसभापछि घण्टाघरमा बालविवाह र महिला हिंसा विरुद्ध सडक नाटक समेत प्रदर्शन गरिएको छ । एकता किशोरी संवाद समूह वीरगन्ज महानगरपालिका वडा नम्बर २९ का कलाकारहरुले सडक नाटक प्रदर्शन गरेका थिए । नारी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नारीहरुको भने उपस्थिति न्यून देखिएको थियो ।