नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी 

नेपाली कांग्रेस बाराको सभापतिमा राजेश राय यादव विजयी 

वीरगन्ज, ३० फागुन । नेपाली कांग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित हुनुभएको छ । सभापति  चयनका लागि हिजो दोस्रो चरणको मतदानमा राजेश राय यादवले १ हजार २ सय ६ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँका प्रत्यासी शम्भु बुढाथोकीले १ हजार १ सय ५४ मत ल्याउनु भएको सहायक निर्वाचन अधिकृत गोंगेश्वर अधिकारीले जानकारी दिनुभयो । यादव ५२ मत बढी ल्याएर सभापतिमा चयन हुनुभएको छ ।

यसअघि गत बुधबार पहिलो चरणको मतदानमा सभापतिका ३ जना प्रतिस्पर्धी  मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि हिजो दोश्रो चरणको मतदान भएको हो ।

कलैया स्थित श्री ३ चन्द्र मावि परिसरमा बिहान साढे ९ बजे देखि शुरु भएको दोश्रो चरणको मतदान अपरान्ह ५ बजे सम्म चलेको थियो । यसअघि बुधबार भएको पहिलो चरणको निर्वाचनमा तेश्रो भएका संस्थापन इतर समुहका उम्मेदवार रामानन्द यादवले भने अहिलेको दोश्रो चरणको मतदानमा राजेश राय यादवलाइ समर्थन जनाउनु भएको थियो ।

तर, रामानन्द यादवकै प्याननलबाट उपसभापतिका उम्मेदवार मनोज भट्ट र पेमासिद्धी लामा, सचिवका उम्मेदवार राजेश रौनीयार, सह सचिवका उम्मेदवार राजेश सिंह लगायतले भने दोश्रो चरणको मतदानमा शम्भु बुढाथोकीलाइ समर्थन गरेका थिए ।

बुधबार भएको पहिलो चरणको मतदानमा राजेश राय यादवले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामानन्द यादवले ७०९ मत ल्याउनु भएको थियो ।