दैनिक ११ हजार कोरोना संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

दैनिक ११ हजार कोरोना संक्रमित हुन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

ट्रिब्यून न्युज 
काठमाडौं, ३१ चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दैनिक ११ हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार जेठ–असारमा संक्रमण उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको हो । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित भई सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो । 

उहाँका अनुसार विदेशबाट आएकाहरुलाई मुख्य नाकामा नै परिक्षण गर्ने र संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति बनाइएको छ । यसका लागि मुख्य नाकामा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया शुरु भएको मन्त्री त्रिपाठीले बताउनुभयो । 

अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिनु डरलाग्दो भएको मन्त्री त्रिपाठीले बताए । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला शहरहरुमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिस गरिएको उहाँले बताउनुभयो ।