ठोरीमा पाटे बाघको आतंक, बाघको आक्रमणले एक घाईते
वीरग्न्ज, १३ बैशाख । पर्साको ठोरीमा पाटे बाघको आक्रमणबाट फेरी एकजना वृद्ध घाईते भएका छन् । ठोरी गाउँपालिका–४, ठाडोलाईनका ७१ वर्षीय सुकदोर्जे दोङ बाघको आक्रमणबाट घाइते भएका हुन्। सोमबार अपरान्ह करीब ५ बजेतिर ठाडोलाईन नजिकै रहेको मकै बारीमा गएका उनलाई मकैबारीमा लुकेर बसेको बाघले आक्रमण गरेको हो।
बाघले लछार पछार गर्दा माडिएको मकैबारी , तस्वीर : माधव तिमिल्सिना
मकै बारीभित्र लुकेर बसेको पाटेबाघले आक्रमण गरेर उनलाई लछारपछार गरेको छ । बाघको आक्रमणबाट उनको घाँटी, ढाड, हात लगायतका शरीरका विभिन्न अङ्गमा चोट लागेको छ । उनलाई स्थानीय क्लिनिकमा उपचार गरिएको छ। दोङ्लाई आक्रमण गरेपछि पनि मकै बारीमा बाघ लुकेर बसेको थियो ।
स्थानीयबासीले होहल्ला गरेर बाघलाई जङ्गल तर्फ धपाएका ठोरीका सञ्चारकर्मी माधव तिमिल्सिनाले जानकारी दिनुभयो । पछिल्लो समयमा ठोरीमा बाघले आतंक मच्चाएको छ । यसअघि पनि बाघको आक्रमणबाट एकजना घाईते भएका थिए । उनको वीरगन्जको अस्पतालमा नै उपचार भईरहेको छ । स्थानीयले पालेको बाख्राको खोरमै पसेर बाघले बाख्रा समेत मारिदिएको छ ।