जन्तीमा आएका युवकको मृत्यु घटनामा पक्राउ परेकाहरु तारिकमा रिहा
वीरगन्ज, ६ फागुन । गएराति जन्तीमा आएका एकजना भारतीय नागरिकको मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको ११ जनालाई तारिकमा रिहा गरेको छ । पर्साको कालिकामाई गाउँपालिका–१ तीनडोबिया निवासी कमल पटेलको छोरीको विवाहमा भारत, बेतियाको शिवपुरी सतवरियाबाट जन्ती आएको थियो । जन्तीमा आएका शिवपुरी सतवरिया निवासी वकील पटेलको मृत्यु भएको थियो ।
सोही घटनाको छानविनका लागि प्रहरी चौकी भिस्वाले उनीसँगै जन्ती आएका ११ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको थियो । भारत, बेतियाको शिवपुरी सतवरिया निवासी कन्हैया पटेल, ओमप्रकाश साह, सिकेन्द्र पटेल, सोनकुमार पटेल, विनय पटेल, पिन्टु पटेल, अर्जुन पटेल, इन्द्रजीत पटेल, निपु पटेल, सिटु पटेल र राहुल पटेललाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, पोखरियाको जिम्मा लगाएको थियो ।
प्रहरीले मृतकको शव मुचुल्का गरी पोष्टमार्टमका लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा ल्याएको थियो । पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा जन्तीमा अत्यधिक मदिरासेवनका कारण मृत्यु भएको देखिएकोले पक्राउ परेका ११ जनालाई रिहा गरिएको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो । उनीहरु आज पनि तारिकमा इलाका प्रहरी कार्यालय पोखरियामा हाजिर भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।
अत्यधिक मदिरा सेवन गरेका वकिल पटेल विवाहमा नाचगान गर्ने क्रममा वकील बेहोश भएका थिए । सोही क्रममा उनको मृत्यु भएको प्रहरीको अनुमान छ । पटेलको मृत्यु भएपछि प्रहरीलाई खबर नगरी जन्तीमा आएकाहरूले बिआर २२ जिए ३४७० नम्बरको गाडीमा राखेर भारत लैजाने क्रममा भिस्वा प्रहरीले चेकजाँच गर्दा वकील मृत भेटिएका थिए । त्यसपछि प्रहरीले सो गाडीमा सवार ११ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।