अग्नी ग्रुपद्वारा स्वास्थ्य उपकरण नारायणी अस्पताललाई हस्तान्तरण

अग्नी ग्रुपद्वारा स्वास्थ्य उपकरण नारायणी अस्पताललाई हस्तान्तरण

वीरगन्ज, २७ जेठ । नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई सहयोग गरेको छ । काभिड–१९ महामारीको दोश्रो भेरियण्टमा वीरगन्ज पनि उच्च जोखिममा निरन्तर संक्रमितहरुको उपचार सेवा दिएको नारायणी अस्पताललाई बिहीबार अग्नी ग्रुपले आवश्यक उपकरणहरु सहयोग गरेको हो ।

ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठले ३०० केभीएको स्टेपलाईजर एकथान, २० केभिएको युपिएस एकथान र ३२६ एम्पियरको व्याट्री १६ थान वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको रोहरबरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको अग्नी ग्रुपका वीरगन्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिनुभयो ।

सबै सामान गरी कूल १५ लाख मूल्य बराबरको रहेको उपकरणहरु उपलब्ध गराएको उहाँले बताउनुभयो । हस्तान्तरण गरिएको उपकरणहरु कोभिड अस्पतालले संचालन गरेको आईशोलेसन वार्डका लागि उपयोगी हुने क्षेत्रीले बताउनुभयो । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले अस्पतालमा नियमित विद्युत आपूर्तिको लागि व्यावस्था गर्ने आश्वासन दिनु भएको थियो । उहाँले दिएको आश्वासनमा अग्नी ग्रुपले साथ दिएको छ ।

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि चलेको हरेक कदममा सबै क्षेत्रबाट सहयोग जुट्ने गरेको छ । जसले गर्दा कोभिडको सबैभन्दा उच्च जोखिममा रहेको वीरगन्जलाई अहिले विस्तारै सामान्य अवस्थामा ल्याउनलाई सहज हुदै गएको छ । स्वास्थय उपकरण हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख सरावगी, अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभ, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र बहादुर प्रधान लगायतको उपस्थिति रहेको थियो ।