बदलिँदो परिस्थितिमा सीमाञ्चलका जनस्तरको सम्बन्ध थप बलियो बनाउनुपर्ने जोड 

बदलिँदो परिस्थितिमा सीमाञ्चलका जनस्तरको सम्बन्ध थप बलियो बनाउनुपर्ने जोड 
भारतको विहार राज्य वैशाली स्थित मिडिया फर वोर्डर हारमोनीले आयोजना गरेको कार्यक्रममा सहभागी अतिथिहरु : तस्वीर ट्रिब्यून न्युज

वीरगन्ज, १२ असार । बदलिँदो राजनीतिक परिस्थितिमा नेपाल र भारतबीचको जनस्तरको सम्बन्ध सुदृढ बनाई राख्न चनाखो हुनुपर्ने नेपाल भारत सीमाञ्चलका सरोकारवालाहरुले जोड दिएका छन् ।

 मिडिया फोर बोर्डर हार्मोनी संस्थाले आयोजना गरेको ‘बद्लिदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयक नेपाल–भारत समिटमा बोल्ने वक्ताहरुले नेपाल र भारतबीच सदियौंदेखिको सम्बन्ध रही आएकोले राजनीतिक कारण अथवा विश्वमा बदलिएको परिस्थितिले नेपाल र भारतका जनस्तरको सम्बन्धलाई कमजोर हुन दिन नहुने बताएका हुन् । 

भारतको बिहार राज्यको वैशाली जिल्लामा रहेको ऐतिहासिक पर्यटकीय स्थल वैशाली गढको थाई अतिथि सदनमा शनिबार आयोजना गरिएको कार्यक्रममा बोल्दै भारतका साँसद तथा पुर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले१७ किलोमिटरभन्दा लामो नेपाल र भारतको खुल्ला सिमाना दुई देशबीचको विशिष्ट र अभिन्न सम्बन्ध रहेको बताउनुभयो ।

नेपाल र भारतको सीमामा कहिलेकाँही असहज परिस्थिति आउने गरेकोमा त्यसलाई विवेकपूर्ण ढँगले समाधान गर्नुपर्ने बताए । उहाँले दुई देशको सरकारस्तरको सम्बन्ध र जनताबीचको सम्बन्ध खल्बलिन नदिन नेपाल र भारतबीचको सम्बन्धलाई मजबुद बनाउन आवश्यकता रहेको बताउनुभयो ।

भारतका अर्का साँसद अजय निषादले नेपाल र भारतको सम्बन्धलाई बलियो र प्रगाढ बनाईराख्न नागरिक समाजले अहम भूमिका निर्वाह गरेको भन्दै औपचारिक सम्बन्धहरुकाबीच जनस्तरीय अन्तरक्रिया र संवादले पनि थप सदभाव कायम राख्न सहयोग पुग्ने बताउनुभयो । 

नेपालबाट प्रतिनिधित्व गर्नुभएका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका संसदीय दलका नेता एवं पूर्वमन्त्री जितेन्द्र सोनलले नेपाल नेपाल र भारतबीच विश्वनाथ र पशुपतिनाथ, राम र सीताको प्रचीन कालदेखिको सम्बन्ध नयाँ र बदलिदो कालखण्डमा पनि अझ प्रगाढ बनाउदै लैजान आवश्यक रहेको बताउनुभयो । यस्तो विशिष्ठ सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तब्य रहेको बताउनुभयो ।

वैशालीस्थित थाइ मन्दिरका प्रमुख डा. पीसी चन्द्राले दुई देशबीचको सम्बन्ध बिश्वमैं विशिष्ठ रहेको र यसलाई चीरकालसम्म स्थायीत्व दिनुपर्ने बताउनुभयो । कार्यक्रममा भारतका बिभिन्न पार्टीका बिधान सभा सदस्यहरु, पत्रकार र नागरिक समाजका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । 

व्यावसायी, पत्रकार र महन्थ सम्मानित 
मिडिया फोर बोर्डर हार्मोनी संस्थाले आयोजना गरेको कार्यक्रममा नेपालका होटल व्यावसाय, पत्रकार र महन्थ सम्मान्नित भएका छन् ।

भारतको विहार स्थित वैशाली जिल्लामा भएको वैशाली गढमा आयोजित कार्यक्रममा नेपालका तर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास, होटेल तथा पर्यटन ब्यवसायी संघ, वीरगन्जका अध्यक्ष हरि पन्त र पत्रकार राम सर्राफलाई नेपाल भारत अन्तराष्ट्रिय मैत्री सम्मानबाट सम्मान गरिएको थियो ।