पर्सा प्रहरीले भन्सार छलिको ट्रक नियन्त्रणमा लिई राजस्वलाई जिम्मा लगायो
वीरगन्ज, २३ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले विलविजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड भएको ट्रक नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट पोखरातर्फ सामान बोकेर जादै गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधबार राति ११ः४० बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर सडकखण्डमा ना.३ ख २२९ नम्बरको मालवाहक ट्रक रोकेर
जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको ट्रकका चालक जिल्ला बारा जितपुर सिमरा उप(महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २५ को सागर रायलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिईएको ट्रकमा रहेको सामानको ५० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहीबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।