बाराको अम्लेखगञ्जबाट १५७ केजी गाँजा सहित सातजना पक्राउ
वीरगन्ज, २२ साउन । जिल्ला प्रहरी कार्यालय बाराले १५७ किलो अवैध लागू औषध गाँजा सहित ओसारपसारमा संलग्न ७ लाई पक्राउ गरेको छ ।
आईतबार बेलुका ६ बजेको समयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ अम्लेखगञ्जमा अबैध लागू औषध ओसार पसार गरी रहेको गोप्य सूचनाको आधारमा गएको ईलाका प्रहरी कार्यालय सिमराको टोलीले गाँजा सहित सातजनालाई पक्राउ गरेको हो ।
बा. ११ च. ४९९२ नम्बरको स्कारपियोमा जितपुर सिमरा वडा नम्बर १ बस्ने किताव सिंह नेगीको छोरा वर्ष ३९ का रोशन नेगीले ओसार पसार गरिरहेको अवस्थामा ६ पोकामा १५७ किलो ग्राम अबैध लागू औषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
गाँजा लोड गरेको स्कोरपियो सहित पक्राउ परेका चालक रोशन नेगीको बयानको आधारमा अन्य ६ जनालाई पनि पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेहरुमा स्कारपियो चालक गिरी, मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ बस्ने अन्दाजी बर्ष ३० को मुकेश लामा, बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ बस्ने अन्दाजी बर्ष ३३ को बुद्द पाख्रिन रहेका छन् ।
त्यस्तै भारतको जिल्ला बहराईज बस्ने अन्दाजी बर्ष २६ को अलि अहमद भाट, भारत, मोतिहारी बस्ने बर्ष २३ को जमालुदिन खान, १८ बर्षीय देव कुमार, बर्ष ३५ को जागिरदिन मियाँलाई पनि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक न्यौपानले बताउनुभयो ।
उनीहरुको साथबाट बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप थान–१,बिआर ०५ जेड ८९६१ भारतीय पल्सर मोटरसाईकल १ थान बरामद गरेको छ । बरामद गरिएको गाँजा र पक्राउ परेकाहरुलाई थप अनुसन्धान कारवाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।