राजनीतिक आवरणमा पिंकीको हत्यारालाई जोगाउन खोजिएको पीडितको आरोप

पीडित आफन्त र छिमेकी भन्छन् : पिंकीले जस्तो अरु पिंकीले ज्यान गुमाउन नपरोस

राजनीतिक आवरणमा पिंकीको हत्यारालाई जोगाउन खोजिएको पीडितको आरोप
पत्रकार सम्मेलनमा मृतक पिंकीका अफन्त

वीरगन्ज, ७ असोज । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ मोतीबाग बस्ने बर्ष २८ की पिंकी पटेलको मृत्यु नभई नियोजित हत्या भएको पीडितका आफन्तले बताएका छन् । नेपाल पत्रकार महासंघ पर्सामा शुक्रबार पत्रकार सम्मेलन गरेर २८ बर्षीया पिंकीका दाजु मनिष कुर्मी र सपना कुर्मीले बहिनी पिंकीको शारिरिक यातनापछि उपचारको क्रममा मृत्यु भएकोले उनको नियोजित हत्या भएको र हत्यारालाई जोगाउन राजनीतिक दलका नेताहरु नै लागेको आरोप लगाएका छन् ।

उनीहरुका अनुसार पिंकीको २०६७ साल मंसिर १४ गते कलैया मोतीबागका ३२ बर्षीय दिपेन्द्र जयसवारसँग धार्मिक परम्परा अनुसार विवाह भएको थियो । विवाहमा पनि ४० लाख नगद र १० तोला सुन दाईजो लिएको थियो । विवाहमा दाईजो लिएरपनि अझै एउटा चारचक्के गाडी चाहियो भनेर माग गरेपछि पिंकी र दिपेन्द्रको सम्बन्ध बिग्रिन थालेको थियो ।

विवाह भएको एकबर्षसम्म पारिवारिक सम्बन्ध राम्रै भएपनि एकबर्षपछि दिपेन्द्र र पिंकीबाट एक छोरीको जन्म भएपछि पिंकीलाई थप श्रीमान पक्षबाट मानसिक र शारिरिक यातना दिन शुरु गरेको उनीहरुको आरोप छ । नेपाल एसबीआई बैंकको शाखा प्रबन्धमा कार्यरत दिपेन्द्रका बाबु मुरारी पटेल र उनकी श्रीमातीले पिंकीलाई छोरी जन्माएको भन्दै मानसिक यातना दिन थालेको थियो । सासु ससुराले दिएको मानसिक यातनाको विषयमा श्रीमानलाई भन्दापनि श्रीमानले पनि श्रीमतीलाई नै दोषी देखाउने र उल्टै उसलाई शारिरिक यातना समेत दिने गरेको कुटपीट गर्ने गरेका थिए ।

कुटपीटबाट नै उनको स्वास्थ्य अवस्था बिग्रिएर उपचारको क्रममा मृत्यु भएको पिंकीका दाई मनिष र सपना कुर्मीले बताउनुभयो । पिंकीको यहि असोज २ गते काठमाडौंको मेडिसिटी अस्पताल प्रालिमा उपचारका क्रममा मृत्यु भएको थियो । घटना विवरण अनुसार २०७९ साल भदौ १५ गते साँझ अन्दाजी ८ बजेको समयमा घरायसी कुराको विषयमा पिंकीलाई उनका श्रीमान, सासुससुराले कुटपिट गरी घाईते बनाएको र पिंकीको टाउकोमा गम्भीर चोट लागेर अवस्था गम्भीर भएपछि भदौ १९ गते पिंकीलाई वीरगन्ज स्थित डाक्टर उदयनारायण सिंहको क्लिनिकमा देखाउन ल्याएको थियो ।

पिंकीको नाक र कानबाट रक्तश्राव भईरहेको र वान्ता पनि गरेको देखेपछि चिकित्सकले पनि पिंकीको सिटी स्क्यान गर्नुपर्ने सुझाव दिएका थिए । तर, पिंकीलाई श्रीमानपक्षकाले उपचार नै नगरी घर लिएर गएका मनिषले बताउनुभयाे । घरमा लगेपछि पिंकीको अवस्था झन बिग्रिएपछि २०७९ भदौ २७ गते वीरगन्ज स्थित एडभान्स मेडिकेयर अस्पतालमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि २८ गते थप उपचारका लागि चितवनको मेडिकल कलेजमा लगिएको थियो ।

चितवन मेडिकल कलेजमा पनि उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौं लैजान चिकित्सकले सल्लाह दिएर काठमाडौंको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बहिनी पिंकीको मृत्यु भएपछि पिंकीको श्रीमान र सासुससुराको नियोजित लापरवाहीका कारणले मृत्यु भएको पिंकीका दाजु मनिषले दावी गर्नुभयो । पिंकीलाई यातना दिन थालेपछि उनले २०७५ साल भदौ १९ गते जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दर्ता गराउनु भएको थियो ।

त्यहाँबाट पिंकीले न्याय नपाएपछि २०७५ साल मंसिर ४ गते बारा जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गराउनु भएको थियो । त्यसपछि पिंकी र श्रीमानको परिवारसँगको सम्बन्ध झन बिग्रिदै गएको थियो । पत्रकार सम्मेलनमा पिंकीका दाई मनिष र दिदी सपनाले बहिनीको मृत्यु नभई हत्या नै गरिएको बताएका छन् । दोषीलाई कारवाही गर्न जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएको र प्रहरी प्रमुख एसपीको सहयोग रहेपनि तल्ला तहका मुद्दामा कार्यरत प्रहरी अधिकृतहरुको भने असहयोग रहेको गुनासो गरेका छन् ।

राजनीतिक पहुँचको आधारमा प्रहरी कार्यालयका तल्लो तहका प्रहरी कर्मचारीहरुको विपक्षीहरुसँग राम्रो उठबस भएकोले सोचेको जस्तो सहयोग नपाएको पीडित सपना कुर्मीले बताउनुभयो । प्रहरी कार्यालय बारामा जाहेरी दर्ता गरेपछि आरोपित दिपेन्द्रलाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी अदालतमा पेश गरेर पाँचदिनको म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरोपित व्यक्ति वीरगन्जमा बस्ने गरेको र वीरगन्जको अस्पतालमा उपचारको लागि लगिएको आधारमा मुख्य घटनास्थल पनि वीरगन्जमा हुनसक्ने देखिएकोले अहिले ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । अनुसन्धानमा घटनास्थल वीरगन्ज नै प्रमाणित भए फेरी जिल्ला प्रहरी कार्यलय पर्सामा मुद्दा बुझाउनुपर्ने पनि हुनसक्ने उहाँले बताउनुभयो ।