संविधानको पालन र संरक्षण गर्न उपराष्ट्रपतिको आग्रह
काठमाडौं । उपराष्ट्रपति पुनले संविधान पालन र संरक्षण गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमपछि उपराष्ट्रपनि पुनले वक्तव्य जारी गर्दै संविधानभन्दा बाहिर जान कसैलाई छुट नभएको बताउनु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न संवैधानिक संकटको अवस्थामा उपराष्ट्रपतिले वक्तव्य निकालेर संविधानको रक्षा गर्न आग्रह गर्नुभएको हो । उहाँले वक्तव्यमा उल्लेख गर्नुभएको छ,
“सार्वभौम संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएका छौँ । यस सुनौलो दिनको अवसरमा हामी सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहो-याएका छौँ । संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो । संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।”