सशस्त्र प्रहरी बल प्रदेश २ को सक्रियतामा अमेरिकी स्वचालित पेस्तोल सहित दुईजना भारतीय पक्राउ 

सशस्त्र प्रहरी बल प्रदेश २ को सक्रियतामा अमेरिकी स्वचालित पेस्तोल सहित दुईजना भारतीय पक्राउ 

वीरगन्ज, १५ पुस । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश २ मुख्यालय बर्दिवासको टोलीले अवैध हतियार सहित दुईजना भारतीयलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आईरहेको बिआर ५०५ एजी ४४२० नम्बरको मोटरसाईकलमा आउदै गरेको दुईजनालाई शंका लागेर बाराको  सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ बसवरिया नहर चोकमा सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश २ बाट सशस्त्र प्रहरी बरिष्ठ हवलदार अशोक साहको कमाण्डमा स्क्वाडमा खटिएको टोलीले अमेरिकी स्वचालित पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ  पर्नेमा भारतको पूर्वीचम्पारण जिल्ला मोतिहारी डेका ग्रामपञ्चायत १३ बस्ने २१ बर्षका चन्दन कुमार राम र सोही स्थानका २० बषका अभिषेक कुमार रहेका छन् ।

उनीहरुको साथबाट अटोमेटिक युएसए लेखिएको एकथान पेस्तो, ७.६५ एमएमको २ राउण्ड गोली र सो मा लाग्ने म्याग्जिन १ थान, चक्कु १ थान, २ सय ग्राम गाँजा २ वटा आधार कार्ड, एटिएम कार्ड लगायतका सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश २ मुख्यालय बर्दिवासका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाईने सशस्त्र प्रहरी महानिरीक्षक ठाडा मगरले बताउनुभयो । यसअघि मंगलबार सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी प्रदेश २ मुख्यालय बर्दिवासकै टोलीले पर्साको पोखरियाबाट १५० केजी प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको थियो ।

बरामद गाँजा आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाईएको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडामगरले बताउनुभयो ।