पर्साबाट १०५ किलो गाँजा सहित सात जना पक्राउ
वीरगन्ज, १९ पुस । प्रहरीले पर्साको लालपर्साबाट १०५ किलोग्राम लागुऔषध गाँजासहित सात जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा लागुूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले पर्साको लालपर्सा गाउँमा रोकी राखेको ना ४ ख ६५२५ नम्बरको ट्रकबाट सहितको गाँजा बरामद गरेको हो ।
गाँजासहित पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा निवासी विजय तामाङ, लक्ष्मण सिटौला, प्रभात तामाङ, रामलाल गोले, धादिङ बस्ने निरज लामा, चितवन बस्ने सानुलाल तामाङ र पर्साका सखुवा प्रसौनी निवासी सहिद मियाँ रहेका छन् ।
माल समान राख्ने ठाउँमा चेक गर्दा कालो त्रिपालले छोपी राखेको अवस्थामा गाँजाको चिप्पड बरामद गरिएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता कृष्णकुमार महतले जानकारी दिए । उहाँका अनुसार ती सबै गाँजा विभिन्न रंगका प्लास्टिकले बेरेर ट्रकभित्र राखिएको थियो ।
सबैलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।