नेपाली कांग्रेसको सप्तरी र बारामा मतदान स्थगित, चितवन र महोत्तरीमा संस्थापन इतरका सभापति विजयी 

नेपाली कांग्रेसको सप्तरी र बारामा मतदान स्थगित, चितवन र महोत्तरीमा संस्थापन इतरका सभापति विजयी 

वीरगन्ज, २२ फागुन । नेपाली कांग्रेसको शनिबार भएको बारा र सप्तरीको मतदान स्थगित भएको छ । मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान स्थगित भएको हो । शनिबार बारामा मतदान जारी रहेको बेला विवाद भएपछि नेपाली कांग्रेस बाराको निर्वाचन नै रद्द गरिएको छ ।

कलैयाको सिद्धेश्वर संस्कृत माविमा हिजो भएको निर्वाचनमा मतपत्र कब्जामा लिएर फर्जी मत खसाल्न थालिएपछि निर्वाचन नै रद्द गरी सबै मतपत्र जलाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताउनुभयो । निर्वाचन रद्ध गरिएपछि मतदान स्थलमै नाराबाजीसँगै प्रदर्शन पनि भएको थियो ।

पुनः मतदानको लागि आज बैठक बसेर मिति तय गरिने प्रमुख निर्वाचन अधिकृत उप्रेतीले बताउनुभयो । उहाका अनुसार २ नम्बर निर्वाचन क्षेत्रको ४ वटा बुथमा फर्जी मत खसेपछि अनुगमनको क्रममा अमर्यादित क्रियाकलाप पाइएको हो ।

तयारी अपुग, मतदान स्थलकहाँ तोक्ने र मतपत्र छाप्न ढिलाइ भएकोले मतदान हिजो दिउँसो २ बजेदेखि सुरु भएको थियो । पदाधिकारीसहित ८० पदका लागि २ सय २७ जना प्रतिस्पर्धा छन् । कुल मतदाता २ हजार ४ सय ८१ मध्ये १ हजार ३ सय मत खसेको थियो ।

इन्ट्री गरेको मतपत्रभन्दा बढी मतपत्रखसेको पाइएको र अमर्यादित हुन थालेपछि सुरक्षाकर्मीको सहयोग र उम्मेदवारको सल्लाहमा सबै मतपत्र जलाइएको उप्रेतीले बताउनुभयो ।

यसबारे केन्द्रीय निर्वाचन समितिमा जानकारी गराइसकिएको उहाले बताउनुभयो । कुन पक्षले मतपत्र कब्जा गरे भनेर एकिन हुन नसकेको उहाले बताउनुभयो । तर सभापतिका उम्मेदवार  शम्भु बुढाथोकी र रामानन्द यादव पक्षले भने सभापतिका अर्का उम्मेदवार कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादव पक्षले फर्जि मत खसालेको आरोप लगाएका छन् ।

बारा काँग्रेसको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।संस्थापन पक्षबाट शम्भुबहादुर बुढाथोकी र राजेश राय गरी दुई जनाले उम्मेदवारी दिएका छन् । शेखर कोइराला र कृष्ण सिटौलाको समूहको समर्थनमा रामानन्द यादवले सभापति पदमा उम्मेदवारी दिएका छन् । उनीहरु प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

यसैबिच नेपाली कांग्रेस सप्तरी जिल्ला समितिको शनिबार भएको निर्वाचनमा विवाद भएपछि मतदान स्थगित भएको छ । रूपनी गाउँपालिकास्थित औद्योगिक क्षेत्रमा भइरहेको निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो । करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता पठाएर मत हाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदानमा रोक लगाउन भनेपछि विवाद भएको हो ।

विवादका क्रममा केही मतपत्र च्यातिएको छ ।विवादकै क्रममा दुई सय मतपत्र लुटिएको निर्वाचन समितिले जनाएको छ । प्रतिनिधि सभा सदस्यसमेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदातालाई मत हाल्न लगाएर धाँधली गर्न खोजेको बताउनुभयो ।

केन्द्रीय सदस्य समेत रहेका संस्थापन पक्षका नेता दिनेश यादवले खुल्ला ठाउँमा निर्वाचन गर्दा यस्तो समस्या देखिएको बताउदै  आफूहरूमाथि लगाइएको आरोप निराधार रहेको दावी गर्नुभयो  ।स्थगित भएको निर्वाचन कहिले गर्ने सन्दर्भमा छलफल भइरहेको निर्वाचन समितिले जनाएको छ ।

यसैबिच महोत्तरीको नेपाली काँग्रेसको सभापतिमा नागेश्वर यादव निर्वाचित हुनु भएको छ । महोत्तरीमा भएको पहिलो चरणको मतदानमा सभापतिका ३ जना प्रतिस्पर्धी मध्ये सबै भन्दा बढि मत ल्याएका नागेश्वर यादवलाइ दोश्रो स्थानमा मत ल्याएका शुशील यादवले समर्थन जनाएपछि संस्थापन पक्षका नागेश्वर , सभापतिमा निर्वाचित हुनु भएको हो ।

पहिलो चरणको मतदानमा काँग्रेसको जिल्ला सभापतिमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि हिजो दोश्रो चरणको मतदान हुने तयारी गरिएको थियो । तर दोश्रो स्थानमा मत ल्याएका शूशीलले नागेश्वरलाइ समर्थन जनाएपछि दोश्रो चरणको मतदान नै नगरि सहमतिमा नागेश्वर, जिल्ला सभापतिमा निर्वाचित हुनु भएको हो ।

अस्तीराति भएको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार नागेश्वरले १ हजार ११ मत , शुशील यादवले ७ सय ७९ मत र बजरंग नेपालीले ३ सय ६ मत मात्र प्राप्त गर्नुभएको थियो । 

यसैबिच नेपाली कांग्रेसको चितवन सभापतिमा राजेश्वर खनाल निर्वाचित हुनु भएको छ । शेखर कोइराला पक्षका खनाल , हिजो निर्विरोध निर्वाचित हुनु भएको हो ।काँग्रेसको विधान अनुसार , पहिलो चरणमा ३ जना प्रतिस्पर्धी मध्ये कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि सभापतिका लागि हिजो दोस्रो चरणको निर्वाचन हुने भनिएको थियो ।

तर, पहिलो चरणमा दोश्रो स्थानको मत लगाएका संस्थापन पक्षका उम्मेदवार मिलनबाबु श्रेष्ठले समर्थन गरेपछि दोश्रो चरणको मतदान नगरि खनाल निर्विरोध निर्वाचित हुनु भएको हो ।

अस्तीराति भएको पहिलो चरणको मतदानमा खनालले ७४६ , श्रेष्ठले ६६२ मत ल्याउनु भएको थियो भने  उत्तम जोशीले ४७३ , डाक्टर सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत पाउनु भएको थियो ।