तमु ल्होसार गुरुङ समुदायले हर्षोल्लासका साथ मनाउँदै

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

तमु ल्होसार गुरुङ समुदायले हर्षोल्लासका साथ मनाउँदै

वीरगन्ज, १५ पुस । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसअघि २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक बिदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै बिदा हुने भनी उल्लेख थियो ।

यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएउनु भएको छ । उहााले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै

यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको हो । राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गर्नुभएको छ । 

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले ल्होसार पर्वले नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहित समुन्नत र समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । तमु ल्होछारको अवसरमा आज शुभकामना दिँदै उहाँले देशको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्नुका साथै राजनीतिक स्थायित्व, दिगो विकास र संविधानको पालनमा ल्होसारले प्रेरित गर्ने बताउनु भएको छ ।

गाई वर्गको बिदाइ र बाघ वर्गको स्वागत गर्दै देश तथा विदेशमा रहेका तमु (गुरुङ) समुदायले आज यस वर्षको ल्होेसार मनाउँदै छन् । उपराष्ट्रपतिले विश्वव्यापी महामारी कोभिड–१९ को जोखिम कायम रहेको भन्ने विज्ञको सुझावलाई ध्यान दिँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरेर पर्व मनाउन अनुरोध गर्नुभएको छ । 

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज जारी गरेको शुभकामना सन्देशमा विशेषगरी गुरुङ समुदायले मनाउने ल्होसार पर्व हाल एक विशिष्ट पहिचान सहितको पर्वका रूपमा देशभर मनाइने गरेको उल्लेख छ ।

प्रधानमन्त्री देउवाले सन्देशमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि अवलम्बन गरिएका नीति प्रभावकारी देखिए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गर्दै पर्व हर्षाेल्लाहपूर्वक मनाउन आग्रह गर्नुभएको छ । उहाँले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुताको भावना अझ प्रगाढ र सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भनी कामना पनि गर्नुभएको छ ।