कोरोना प्रभावितको सहयोगमा हिन्दु स्वंयसेवक संघको साथ
वीरगन्ज, ५ जेठ । कोरोना भाईरस संक्रमणको कारण प्रभावित भएकाहरुको लागि हिन्दू स्वयंसेवक संघ नेपाल, वीरगन्ज विभाग तथा संघ विचार परिवार सहयोगमा जुटेको छ । ‘नर सेवा नै नारायण सेवा’ को भावलाई आत्मसात गर्दै संघका स्वंयसेवकहरु महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको संकटमा सेवमा जुटेका हुन् ।
वीरगन्ज १६ नगवामा संचालित नेशनल मेडिकल कलेजको अस्थायी कोरोना अस्पतालका विरामी तथा कुरुवाहरुको लागि निःशुल्क भोजन वितरण गरेको छ । कोभिड अस्पताल स्थापना भएदेखि नै उपचार गराउँन आउँने विरामी तथा उनीहरुका कुरुवाहरुको समस्यामा हिन्दु स्वंयम सेवक संघ सहयोगी बनेको हो ।
कोरोना संक्रमणको श्रृंखला तोड्नको लागि जारी गरिएको निषेधाज्ञाका कारण होटलहरु समेत बन्द भएको र सडकमा हिड्दा प्रहरीले समेत दुख दिने गरेको बेला स्वंयसेवक संघले गरेको सेवा स्वागतयोग्य रहेको सहयोग पाएकाहरुले बताएका छन् ।
संघले नेशनल मेडिकल कलेको अस्थायी कोरोना अस्पतालमा मात्र नभई वीरगन्जको नारायणी अस्पतालमा रहेको विरामी तथा कुरुवाहरु र सडक पेटीमा भेटिने विपन्नवर्गलाई निःशुल्क भोजन वितरण तथा राहत समाग्री उपलब्ध गराउँदै आएको छ ।
कोही कोरोना संक्रमित ब्यक्ति वा परिवारहरुलाई औषधि, भोजन, खाद्यान्न वा अन्य कुनै पनि प्रकारको सहयोगको आवश्यकता परे ९८५५०२०८०८, ९८०२९२०८०८ र ९८४८९०२९५६ मा फोन गरेर सहयोग माग्न समेत संघले आग्रह गरेको छ ।