आगामी आवको बजेट सिलिङ १८ खर्ब बराबर

आगामी आवको बजेट सिलिङ १८ खर्ब बराबर

काठमाडौं २० फागुन । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सिलिङ निर्धारण गरेको छ । आयोगले बजेटको सिलिङ तोकेर अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

स्रोतका अनुसार योजना आयोगले १८ खर्बबराबरको बजेट सिलिङ तोकेको छ । मध्यकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रममा भने आयोगले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गर्ने प्रक्षेपण गरेको थियो ।

सरकारले राखेको आर्थिक वृद्धि तथा विकासको लक्ष्यलाई भेट्न १८ खर्बबराबरको सिलिङ निर्धारण गरिएको आयोग स्रोतले जनाएको छ । तर, अर्थतन्त्रका सूचकांकहरूमा समस्या देखिएका कारण यतिकै बजेट आउँछ भन्ने अनुमान गर्न भने मुस्किल हुने जानकारहरू बताउँछन् ।

आयोगले अर्थ मन्त्रालयलाई सिलिङ पठाइसकेका कारण एक–दुई दिनमा नै मन्त्रालयले सिलिङको यकिन तथ्यांक सार्वजनिक गर्ने स्रोतले बताएको छ ।

योजना आयोगको मध्यकालीन खर्च संरचनामा भने आगामी आर्थिक वर्षमा पुँजीगततर्फ ४ खर्ब १९ अर्ब, चालूतर्फ ६ खर्ब ६३ अर्ब, वित्तीय हस्तान्तरणका लागि ४ खर्ब ७८ अर्ब तथा वित्तीय व्यवस्थाका लागि २ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन हुने प्रक्षेपण गरिएको थियो ।

यसमा केही बढाएर बजेटको सिलिङ पठाइएको स्रोतले जनाएको छ । सरकारले नयाँ आयोजना केकति ल्याउँछ, त्यसमा बजेटको आकार भर पर्ने बताइएको छ । चालू आर्थिक वर्ष २०७८/०७९ का लागि योजना आयोगले १५ खर्ब ६२ अर्ब रुपैयाँबराबरको बजेट सिलिङ तोकेको थियो । तर, सरकारले बजेटको आकार बढाएर १६ खर्ब ४७ अर्ब पु-याएको थियो ।

पछि शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयकमार्फत बजेट घटाएर १६ खर्ब ३२ अर्बमा झारेको थियो । त्यसमा पनि बजेटको अर्धवार्षिक समीक्षा गर्दै १५ खर्ब ४६ अर्ब रुपैयाँ खर्च गर्ने सरकारले लक्ष्य राखेको छ ।

तर, हालसम्म ४० प्रतिशत पनि बजेट खर्च भएको छैन । शतप्रतिशत बजेट खर्च नहुने भए पनि सरकारले बजेटको आकार भने बर्सेनि बढाइरहेको छ ।

कारोबारबाट साभार.....