प्रेमनाथ शर्माको जीवनी समेटिएको ‘व्यक्ति एक, विशेषता अनेक’ पुस्तक विमोचन 

प्रेमनाथ शर्माको जीवनी समेटिएको ‘व्यक्ति एक, विशेषता अनेक’ पुस्तक विमोचन 

वीरगन्ज, १६ चैत्र । प्रजातान्त्रिक आन्दोलनका अगुवा वीरगन्जका सामाजिक अभियन्ता तथा बरिष्ठ अधिवक्ता स्व. प्रेमनाथ शर्माको स्मृतिमा प्रकाशित पुस्तक ‘व्यक्ति एक विशेषता अनेक’ विमोचन गरिएको छ ।

शर्माकी बुहारी लक्ष्मी पोखरेलद्वारा लिखित पुस्तक वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले बुधबार विमोचन गर्नुभएको हो । विमोचन समारोहमा बोल्ने वक्ताहरूले स्व. शर्मालाई स्मरण गर्दै उहाँको व्यक्तित्व र जीवनीको बारेमा चर्चा गरेका थिए ।

बरिष्ठ अधिवक्ता, राजनीतिज्ञ तथा सामाजिक अभियन्ता समेत रहनुभएका शर्माले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्नुभएको बताएका थिए । उहाँका छोरा श्याम पोखरेलले विगतलाई स्मरण गर्दै शर्मा एक निडर र इमान्दार व्यक्तित्व  र भ्रष्टाचारको कट्टर विरोधी रहेको बताउनुभयो ।

सामाजिक परिवर्तनको आन्दोलनमा उत्तराद्र्धसम्म सक्रिय रहनुभएका उहाँ २०६२/०६३ को आन्दोलनमा नेतृत्व लिएर आन्दोलनलाई उचाईमा पु-याउनु भएको बताए । नेपाली राजनीतिका उच्च व्यक्तिहरुसँग मात्रै नभई वीरगन्जमा पनि उहाँ सबैका सामु परिचित हुनुभएको थियो ।

लेखक लक्ष्मी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की बरिष्ठ पत्रकार जगदीश शर्मा, उद्योगी तथा साहित्यकार गणेश लाठ, स्व. शर्माका छोरा श्याम पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने,

नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेश अध्यक्ष फुलमहम्मद मियाँ, वीरगन्ज महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ध्रुव नेपाल लगायतले स्व. शर्माको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण उदय शर्माले गर्नुभएको थियो ।