सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने सरकारको तयारी
काठमाडौं । सरकारले सर्वसाधारण किसानलाई सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी गरेको छ । विशेष गरी किसानलाई अधिकतम ८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको हो ।
यसका लागि कार्यविधिको मस्यौदा बनेको छ । मस्यौदामा अर्थ मन्त्रालयले छलफल गरिरहेको छ । मस्यौदा मन्त्रिपरिषदमा पेश गर्ने गरी छलफल भइरहेको अर्थले जनाएको छ । सरकारले लघुवित्त कोषमार्फत सस्तो व्याजदरमा ऋण प्रवाह गर्नेछ ।
अर्थमन्त्री जनार्दन शर्मा कोरिया भ्रमणबाट फर्केलगत्तै कार्यविधि मन्त्रिपरिषदमा लैजाने मन्त्रालयको तयारी छ । मन्त्रालयका बैंक तथा वित्तीय क्षेत्रका विज्ञ सल्लाहकार डा. शालिकराम पोखरेलले आफू स्वदेश आएपछि मन्त्रिपरिषद बैठकमा पेश गर्ने गरी काम सक्न मन्त्री शर्माले निर्देशन दिएको बताउनुभयो ।
पोखरेलका अनुसार सरकारले लघुवित्तलाई चार प्रतिशतमा ऋण उपलब्ध गराउनेछ । लघुवित्तले अधिकतम ८ प्रतिशतसम्म ब्याज लिन पाउनेछन् । लघुवित्त कोषमा ५ खर्ब रुपैयाँ राखिनेछ ।