सशस्त्र प्रहरी नायब महानिरीक्षक गौतमद्वारा वीरगन्ज भन्सार नाकामा निरीक्षण
वीरगन्ज, १२ जेठ । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश नम्बर २ बर्दिवासका सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्र प्रसाद गौतमले वीरगन्ज भन्सार नाकाको निरीक्षण गर्नुभएको छ । कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको समयमा सीमा नाकाको अवस्थाको बारेमा जानकारी लिन आउनुभएको सशस्त्र प्रहरी नायव महानिरीक्षक गौतमले बिहीबार निरीक्षण गर्नुभएकोे हो ।
कोभिड–१९ नियन्त्रणका लागि भन्सार नाकामा सशस्त्र प्रहरीले स्थापना गरेको सहायता कक्षबाट हुने गरेको कामको विषयमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गौतमले स्थलगत निरीक्षण गर्नुभएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्सा वीरगन्जका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।
कोरोना भाईरस नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा कडाईका साथ पालना गराउन र सीमानाकाबाट हुने चोरी तस्करी नियन्त्रण रोक्नका लागि सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।