स्वः बिन्दु देवी पाण्डे पुरस्कार रेडियोकर्मी कुवँरलाई प्रदान
वीरगञ्ज, ८ साउन । नेपाल पत्रकार महासंघका संस्थापक सदस्य स्वः बिन्दु देवी पाण्डेको नाममा स्थापना गरिएको विन्दुदेवी स्मृति क्रियाशील महिला पत्रकारिता पुरस्कार रेडियोकर्मी अनिता कुवँर (एनी) लाई प्रदान गरिएको छ ।
स्वः पाण्डेको ५ औ वार्षिक पुण्य तिथिमा आयोजित पत्रकार महिला सम्मान तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि प्रदेश नम्बर २ का उर्जा सिँचाइ तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले दोसल्ला, सम्मान पत्र र नगद सहित पुरस्कृत गर्नुभएको हो । उहाँले पत्रकारहरुको संख्या विस्तारै बढ्दै गएको र पत्रकार महिलाहरुको हित तथा क्षमता अभिवृद्धिका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश भरिका एफएम एवं पत्रपत्रिकाको कार्यालयका विद्युत महशुल मुक्त गराउने योजना ल्याउने पनि बताउनुभयो ।
स्व.विन्दुदेवी स्मृति प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष अनुप तिवारी, बीरगंज उद्योग
बाणिज्य संघका बरिष्ठ उपाध्याक्ष अनिल अग्रवाल, भोजपुरी प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्धिबेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । पत्रकार सरोज खडकाले संस्थाको उद्देश्य र पुरस्कारको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको संचालन माधुरी महतोले गर्नुभएको थियो ।