विज्ञ समूहको अध्ययन टोली बनाएर वीरगन्जलाई शैक्षिक हब बनाउने योजना छ : नगर प्रमुख सिंह
गौतम माध्यामिक विद्यालयको बार्षिक पुरस्कार वितरण समारोह सम्पन्न
वीरगन्ज, ५ असार । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आर्थिक नगरी वीरगन्जलाई शैक्षिक हब बनाउन विज्ञ समूहको अध्ययन टोली बनाउने बताउनु भएको छ ।
गौतम माध्यामिक विद्यालयले आईतबार नगर सभागृहमा आयोजना गरेको ‘एचिभमेण्ट अवार्ड’ वितरण समारोहको उदघाटन गर्दै उहाँले आर्थिक राजधानी मौखिक रुपमा मात्रै रहेको बताउदै वीरगन्जले आर्थिक लाभ भने लिन नसकेको बताउनुभयो ।
वीरगन्ज महानगरपालिकाको नगर प्रमुखमा आफू निर्वाचित भएको २५ दिन मात्रै भएको बताउदै उहाँले आफूले अहिले शिक्षा र स्वास्थ्य क्षेत्रको विषयमा त्यति धेरै जानकारी लिन नपाएको र वीरगन्जको वर्तमान अवस्थाको बारेमा जानकारीका लागि श्वेतपत्र तयारी भईरहेको र त्यसपछि मात्रै आफूले प्राथामिकताका आधारमा काम अघि बढाउने बताउनुभयो ।
गौतम माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापिक उर्मिला लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाको २८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी हिम्मत बहादुर विष्टले विद्यालयका विद्यार्थीहरुले राष्ट्रिय सेवा दलको तालिम लिएर राष्ट्र र राष्ट्रियताको सेवामा समर्पित हुन चाहेको पाउँदा आफुलाई गर्व महशुस भएको बताउनुभयो ।
उहाँले राष्ट्रिय सेवा दलमा पछिल्लो समयमा विद्यार्थीहरुको आकर्षण र अभिभावकहरुमा पनि विश्वास बढ्दै गएको बताउदै यसले समाजलाई अनुशासनमा राख्न सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय सेवा दलको एउटा मात्रै उद्देश्य अनुशासित समाज निर्माण नै रहेको बताउदै नेपाली सेनामा हुने अनुशासन विद्यार्थीहरुले पनि सिक्ने अवसर पाउनुका साथै यसले परिवार समाजमा पनि सकारात्मक सन्देश प्रवाह गरेको बताउनुभयो ।
कार्यक्रममा गौतम माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले वीरगन्जलाई शैक्षिक हबको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए । उनीहरुले प्रस्तु गरेको कार्यपत्रमा वीरगन्ज शिक्षाको लागि सम्भावना बोकेको क्षेत्र रहेको र यहाँ सुविधा सम्पन्न शैक्षिक पूर्वाधार संरचना निर्माण र गुणस्तरीय शिक्षा दिन सके विद्यार्थीहरु पलायन हुनबाट रोक्न सकिने प्रवल सम्भावना रहेको दावी गरेका छन् ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, वीरगन्ज उद्योग वाणिज्य संघका सचिव अरविन्द्र अमात्य, नेपाली सेना श्रीजंग गणका गणपति प्रमुख सेनानी डायमण्ड कार्की, वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिपक शाक्य, गौतम माध्यामिक विद्यालयका संस्थापक निर्देशक निमा लामा,
निर्देशक सोनाम लामा, सहायक प्रधाध्यापिका परीक्षा पिया लामा, एकाडेमिक हेड गणेश क्षेत्री, एडमिनिस्ट्रेटिभ हेड रमेश शर्मा, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, एन प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, विद्यार्थीका अभिभावक र सञ्चारकर्मीहरुको पनि उपिस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थापक प्रधानाध्यापिका उर्मिला लामाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक सौरज प्रधान र धन्यवाद ज्ञापन विद्यालयका शिक्षक एल्भिन रेञ्जरले आरोन रेञ्जरले गर्नुभएको थियो ।
राष्ट्रिय सेवा दलबाट प्रदान गरेको तालिमबाट क्याप्टेनमा चयन भएका विद्यार्थी श्रेया श्रेष्ठ, समिर चौरसिया आगामी शैक्षिक सत्रका लागि हेड ब्वाय र हेड गर्ल चयन गरिएको तथा विद्यालयका समूहगत झण्डा समेत वितरण गरिएको विद्यालयका प्रशासनका ललित कर्णले जानकारी दिनुभयो ।