राजनीतिमा देखिएको गोयबल्स शैली
प्रेमराज सिलवाल
मानिसको जीवनलाई बुझ्ने र व्याख्या गर्ने विभिन्न दर्शन, सिद्धान्त, मूल्य र मान्यता रहेका छन् । विश्वमा यति धेरै विचार, दर्शन, मूल्य र मान्यता रहेका छन् कि तिनको अध्ययन कहिल्यै पूरा गर्न सकिन्न । एउटै मुलुकमा पनि विभिन्न प्रकारका सामाजिक मान्यता, मूल्य, संस्कृति, विचारधारा, दर्शन रहेको पाइन्छ । समाजको मान्यता र मूल्यअनुसार मानिसका आफ्ना दृष्टिकोण र प्राथमिकता रहेका हुन्छन् । फरक–फरक समाजका मानिसहरूको विचार र मूल्य भिन्न खालको हुन्छ । मानिस जन्मने समाजमा भए पनि समाजअनुसार विचारधारा फरक हुन पुग्छ । जुनसुकै समाज, परिवार, क्षेत्र, देश, जात, भूगोलमा जन्मे पनि उसको आधारभूत मानवीय चरित्र सामान्यतया समान हुन्छ । भोक, तिर्खा, निद्रा, शारीरिक आवश्यकता, डर, आश, चिन्ताजस्ता कुरा सबैमा रहेको हुन्छ । केवल मात्रात्मक र तुलनात्मक दृष्टिकोणले मात्र फरक हुन्छ । रूप, स्वभाव, तरिका, प्रयोग, क्रियाकलाप आदिको दृष्टिले भिन्नता भए पनि सारमा भने समान हुन्छ । मानिसको पहिलो पाठशाला उसको परिवार हो भने पहिलो शिक्षिका उसकी आमा हुन् । त्यस अर्थमा प्रत्येक मानिसमा आमा, परिवार, समाजको दृष्टिकोण, प्राथमिकता र सम्बन्धको प्रभाव परेको हुन्छ । सोही प्रभावका कारण मान्छेले आफ्नो जीवनमा पनि विभिन्न प्रकारका कार्य, व्यवहार र गतिविधि गर्दै आएको हुन्छ । खानाको अभावमा हुर्केको मानिसका लागि जीवनभर खाना फाल्ने कुराले पोल्छ । मानिसले गर्ने व्यवहार, गतिविधि र कार्यमा उसमा भएको दृष्टिकोणले ठूलो प्रभाव पारेको हुन्छ । परम्परावादी र धार्मिक चिन्तन भएको मानिसले धार्मिक विषयमा गर्ने विश्लेषण र माक्र्सवादी विचार र भौतिकवादी दर्शनबाट प्रभावित भएको मासिनले गर्ने सामाजिक–धार्मिक विश्लेषणमा ठूलो अन्तर हुन्छ । मानिसले जीवनभर गर्ने व्यवहार, गतिविधि, लगानी वा खर्च उसको आफ्नै दृष्टिकोण र प्राथमिकताको उपज हो ।
सेवाभावबाट बढी प्रभावित मान्छेले मदर टेरेसा ९सन् १९१०–१९९७० वा फ्लोरेन्स नाइटिंगल ९सन् १८२०–१९१०० जस्तै आफ्नो जीवनलाई समाजका लागि सुम्पन तयार हुन्छ । अन्धधार्मिक भावनाबाट ग्रस्त मानिसले स्वर्गमा पुगिने र जीवनमा सुख, शान्ति, धन, दौलत, पुत्र प्राप्तिको आशामा आफ्नो कमाइको अधिकांश भाग धार्मिक कार्य वा दान वा मन्दिर निर्माण वा सप्ताहका लागि भन्दै दान गरिरहन्छ वा गर्न सक्छ । त्यो उसको दृष्टिकोणको उपज र प्राथमिकता हो । जीवनमा राम्रो खान–लाउन, स्वास्थ्य उपचार र सुखमा खर्च गर्न नसक्ने मानिसले पनि मंन्दिर निर्माण वा धार्मिक कार्यको नाममा लाखौं लाख खर्च गरिरहेका हुन्छन् । जीवनलाई रसिलो बनाउनुपर्छ र रम्नुपर्छ भन्नेहरूले मदिरा सेवन र भ्रमणलाई प्राथमिकता दिएका हुन सक्छन् । कतिपयले यौनसँग सम्बन्धित विषयमा जीवनभरको कमाइ सिध्याएको पनि पत्तै हुँदैन । त्यस्ताको लागि शिक्षामा गरिने लगानी बालुवामा पानी हालेसरह हुन सक्छ । तर, शिक्षालाई प्रधानता दिनेहरूले भने भोको पेट लिएर पनि महँगो पुस्तक किन्ने गरेका हुन्छन् । दर्शन र चिन्तनमा तल्लीन मानिसलाई अरू कुराको कुनै अर्थ हुन्न ।
दार्शनिक मूल्य र प्राथमिकता
शारीरिक रूपमा कुरूप लाग्ने ग्रिक दार्शनिक सुकरात (मृत्यु ३९९ बिसी) धुरन्धर विद्वान् थिए । एक नम्बर सराबी रहेका फ्रान्सेली दार्शनिक ज्यान ज्याक रूसो (सन् १७१२–१७७८) ले एक होटेल्नीलाई नै स्वास्नी बनाएर ग्यालग्याल्ती बच्चा जन्माइदिए । जर्मनका तानासाह एडोल्फ हिटलर (सन् १८८९–१९४५) को दर्शन मान्छेलाई मार्नु, यातना दिनु र शासन गर्नु रहेको थियो । उनकै दृष्टिकोणबाट प्र्रभावित भएका कारण उनका विदेश मन्त्री जोसेफ गोएबल्स (सन् १८९७–१९४५) ले झुटलाई पनि पटक–पटक भन्नुपर्छ, जसले गर्दा त्यो साँचोमा बदलिन्छ भनेका थिए । इटालीको तर्फबाट धेरै मुलुकमा दूत बनेर कूटनीतिक ज्ञान हासिल गरेका विचारक निकोलो मेकेयावली (१४६९–१५२७) ले शासक डरलाग्दो हुनुपर्ने र डरको आडमा शासन गर्नुपर्ने भनेका थिए । दास क्यापिटल र कम्युनिस्ट मेनिफेस्टोजस्ता विश्वप्रसिद्ध रचना र विचारका धनी जर्मन दार्शनिक कार्ल माक्र्स (१८१८–१८८३) को प्राथमिकता पढ्नु, लेख्नु, विचार गर्नु, फेरि सोच्नु, मनन गर्नु र पुनः नयाँ विचार दिनु थियो । त्यसैले उनले आफ्नो व्यक्तिगत आर्थिक अवस्था र स्वास्थ्यको अवस्थाको कुनै पर्वाह नै गरेनन् । जीवनभर फेडरिच एंगेल्स (१८२०–१८९५) र श्रीमती जेनीको साथ पाएका उनले श्रीमतीलाई मीठो खानलाउन दिन सकेनन वा चाहेनन्, अन्तमा उपचार खर्च समेतको अभावमा उनको मृत्यु भयो । तत्कालीन दक्षिण अफ्रिकामा गोरा शासकको विरोध गर्दा जीवनभर जेलमा कोचिन सकिने थाहा पाएर पनि नेता नेल्सन मण्डेला (१९१८–२०१३) ले वर्णभेद विरोधी विचारको नेतृत्व गरिरहे । उनमा भएको दृष्टिकोणको प्रभावले उनको देशको व्यवस्था मात्र बदलिएन विश्वको चिन्तन र सोच्ने तरिका नै बदलिदियो ।
भारतमा स्वतन्त्रताका लागि वैचारिक नेतृत्व दिने महात्मा गान्धी (१८६९–१९४८) को दृष्टिकोणमा उनकी श्रीमतीको पनि भूमिका रहेको उनैले स्वीकारेका थिए । रिस उठेको समयमा खाना नखाने र नबोल्ने गरेर आफ्नो माग पूरा गराउने उनको बानीले गान्धी श्रीमतीसँग समयसमयमा झुक्न बाध्य भएको अनुभव गान्धीलाई थियो । गान्धीलाई भारतको अंग्रेजलाई हतियार वा हिंसाबाट होइन, सोही खालको अवज्ञा, असहयोग र सत्याग्रहको आन्दोलनले झुकाउने सकिने दृष्टिकोण र विचार भरिदियो । दक्षिण अफ्रिकामा वकालत पेसा गर्न गएको समयमा अंग्रेजले उनलाई रेलबाट धकेलेर ओरालेको, यातना दिएको र अपामन गरेको इखले गान्धीले आफ्नै श्रीमतीले रिसाएको समयमा गर्ने व्यवहार र शैलीलाई राष्ट्रव्यापी रूपमा अहिंसात्मक आन्दोलनको नारामा भारतलाई स्वतन्त्र गराएका थिए । गान्धीमा उनको श्रीमतीको अहिंसात्मक आन्दोलनको प्रभाव रहेको देखिन्छ । मानिस जन्मेपछि उसले उसकी आमा, परिवार, समाज हुँदै धेरै खालका मानिस र व्यक्तिको सम्पर्क र सम्बन्ध राख्न पुग्छ । तर सबैको सम्बन्धको प्रभाव उसमा पर्दैन, नपर्न सक्छ ।
मानिस मूलतः आफ्नै निजी स्वभावबाट अघि बढ्ने भए पनि उसमा कसै न कसैको बढी वा कम प्रभाव भने परेकै हुन्छ । त्यसमा पनि खाँने–बाँच्ने प्रभाव कसैको, खेल्ने–रमाउने प्रभाव कसैको, लेख्ने–पढ्ने प्रभाव कसैको, रिसाउने–झगडा गर्ने प्रभाव कसैको, विचार र ज्ञानको प्रभाव कसैको हुन सक्छ । विभिन्न समय र सन्दर्भअनुसार फरक–फरक व्यक्तिको प्रभाव पर्ने भएपनि जीवनको उसको मूल दृष्टिकोण र उसले लिने प्राथमिकतामा भने निकट रहेका वा नरहेकाको पनि सम्बन्ध वा प्रभाव पर्ने गर्दछ, सक्दछ ।
रूसका लियो टेस्सटोय (१८२८–१९१०) वा रुसकै मेक्सिम गोर्की (१८६८–१९३६) का रचना पढेर आफ्ना दृष्टिकोण बदल्ने मानिसहरू विश्वमा धेरै रहेका छन् । मेकेयावली, हिटलर, इटालीका विनितो मुसोलिनी (१८८३–१९४५), चिलीका अगस्टो पेनोचेट (१९१५–२००६), रूसका नेता भ्लादिमिर लेनिन (१८७०–१९२४) आदिका विचारबाट प्रभावित भएर शासनमा आएका मानिसले गर्ने शासन सञ्चालन फरक हुने गरेका छन् । यिनीहरूको शासन, विचार र दर्शन दमनकारी, निरंकुश र तानाशाही रहेको थियो ।
अमेरिकाका १६औं राष्ट्रपति अब्राहम लिंकन (१८०९–१८६५), दक्षिण अफ्रिकाका नेल्सन मन्डेला, भारतका जजाहारलाल नेहरू (१८८९–१९६४) आदिको शासनबाट प्रभावित हुुनेले गर्ने शासनमा भिन्नता देखिन्छ । उनीहरूमा प्रजातन्त्र, उदारता, लचकताजस्ता पक्ष रहे । चीनका नेता कमरेड माओ (१८९३–१९७६) को आन्दोलनको प्रभावमा विश्वका कतिपय स्थानमा माओवादको आन्दोलनको जन्म भएको थियो । जर्मनीमा हिटलरको अन्त्यसँगै हिटलरी विचारको अन्त्य भएन बरू अनेक रूप र शैलीमा विश्वमा त्यो प्रकट भयो र आज पनि भइरहेका छन् । नेता, विचारक र लेखकका भाषण, लेख र पुस्तकका पानामा निरन्तर आइरहने भारतका महात्मा गान्धीको शैली शासकमा र लोकतान्त्रिक शासनमा कतै देखिन्न । आन्दोलन र संघर्षमा भने आज पनि गान्धीको शैलीको सान्दर्भिकता र प्रयोग भइ नै रहेको देखिन्छ । लोकतान्त्रिक गणतान्त्रिक समाजमा त्यो प्रकारको अहिंसात्मक शैलीको महत्व आज पनि उत्तिकै रहेको देखिन्छ । त्यसैले, मानिसको जीवनमा उसले लिएको दृष्टिकोण, उसका आफ्ना प्राथमिकता, उसको आफ्नो सम्बन्ध वा सरोकारको चौतर्फी प्रभाव देखिन्छ ।
निष्कर्ष
मानिसमा हुने वैचारिक र दृष्टिकोणमा परिवर्तनका लागि वस्तुवादी विचार, विज्ञानसम्मत, यथार्थपरक, अनुसन्धनमा आधारित, तथ्य र प्रमाणमा आधारित, अनुभव र व्यवहारबाट प्रमाणित, जीवनको भोगाइबाट प्रमाणित मूल्य भएको हुनुपर्छ । कतिपयले रातमा भूत आउँछ भन्ने मान्यता राखेपनि भूतलाई कसैले नभेटेकाले त्यसमा कुनै सत्यता हुन्न । कतिपयले बोक्सीमा विश्वास गरे पनि आजसम्म कुनै बोक्सीको वा टुनामुनाका कारण कोही सफल भएको वा असफल बनेको प्रमाण कसैले दिन सक्दैन । तसर्थ, मानिसले आफ्नो दृष्टिकोण नबदलेसम्म कुनै सिद्धान्त, विचार, मान्यता, मूल्य, दर्शन, प्रणाली र व्यवस्थाले काम नगर्ने भएकाले परिवर्तनको थालनी दृष्टिकोणमा परिवर्तनबाटै हुनुपर्छ । विश्वमा भएका वैज्ञानिक तथा विचारधाराहरू र दर्शनको मानव जीवनका लागि चौतर्फी अर्थ र महत्व देखिन्छ । त्यस्ता दर्शन, मूल्य, विचार र मान्यताको प्रभावका कारण मानिसको जीवन बदलिन पनि सक्दछ । जर्मनका हिटलरका प्रचारमन्त्री गोयबल्सले भनेजस्तै पटकपटक झुट प्रचार गरेर सत्य स्थापित हुने युगको अन्त्य भइसकेकाले निजी स्वार्थ भएकाहरूको भ्रमपूर्ण भुलैयाबाट नेपाली राजनीतिलाई मुक्त पार्नु सक्नु आजको आवश्यकता र चुनौती हो ।