पर्सामा आपराधिक घटनामा वृद्धि, गत आर्थिक बर्षमा ११७३ घटनाका १११३ जना पक्राउ
वीरगन्ज, ३ साउन । पर्सा जिल्लामा गत आर्थिक बर्ष २०७७/०७८ मा आपराधिक घटनामा वृद्धि भएको देखिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको पछिल्लो तीन बर्षको प्रगति विवरणको तुलनात्मक तथ्यांक अनुसार पर्सामा गत आर्थिक बर्ष २०७७/०७८ मा आपराधिक घटनाको संख्यामा वृद्धि भएको देखिएको हो । प्रहरी कार्यालयको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७७/०७८ मा १ हजार १ सय ७३ वटा विभिन्न किसिमका अपराधका घटनाहरु भएका छन् ।
अघिल्लो आर्थिक बर्ष २०७६÷०७७ मा भने पर्सामा १ हजार ८१ वटा र आर्थिक बर्ष २०७५/०७६ मा नौ सय ४४ वटा आपराधिक घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालका अनुसार गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएका १ हजार १ सय ७३ घटनाको मुद्दामा १ हजार १ सय १३ जना पक्राउ परेका छन् ।
त्यसमध्य ९५६ पुरुष र २० जना महिला गरी १ हजार ९२ जना नेपाली नागरिक तथा ७३ पुरुष र १ जना महिला गरि ७४ जना विदेशी नागरिक पक्राउ परेका हुन् । बाँकी ७ सय ७ जना पुरुष र ४० जना महिला गरी ७ सय ४७ जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो । फरार मध्य ६९४ जना पुरुष नेपाली नागरिक, १३ जना विदेशी नागरिक तथा ४० जना महिला नेपाली नागरिक रहेका छन् ।
तथ्यांक अनुसार तीन बर्षको तुलनात्मक तथ्यांकमा गत आर्थिक बर्ष २०७७/०७८ मा झुण्डिएर आत्महत्या गर्नेको संख्या वृद्धि भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा ६६ जना र आर्थिक वर्ष २०७५/०७६ मा ६२ जनाले झुण्डिएर आत्महत्या गरेको घटना दर्ता भएको थियो । तर गत आर्थिक बर्ष २०७७/०७८ मा भने आत्महत्या गनेको संख्या बढेर १ सय २ पुगेको छ । कर्तव्य ज्यान, ज्यासम्बन्धी, ज्यान मार्ने उद्योग सम्बन्धी, सवारी ज्यान, नागरिकता सम्बन्धी र ठगी तथा संगठित अपराधको संख्या पनि वृद्धि भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।
नेपाली भूमिमा अपराध गरेर भारतमा लुकीछिपी बस्न सहज भएकाले जिल्लामा फरार अपराधीको संख्या बर्सेनि बढ्दो छ । जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७८ फरार प्रतिवादी र ८० फरार अभियुक्त पक्राउ परेका छन् । उनीहरूबाट ९६ वर्ष ६ महिना २२ दिन कैद र ७१ लाख ८६ हजार ६ सय ९७ रुपैयाँ जरिवाना असुल भएको छ ।
तस्करी नियन्त्रण
- ३३ करोड ७० लाख २४ हजार
हुण्डी कारोबार
- २ करोड १७ लाख ९९ हजार ५२०
फैसला कार्यान्वयन
- फरार प्रतिवादी पक्राउस्७८ जना
- फरार अभियुक्त पक्राउ संख्या ८० जना
- कैद जरिवाना असुल स्(९६ बर्ष ६महिना २२दिन कैद र रू. ७१,८६,६९७ जरिवाना ।