निजगढका युवकको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ
ट्रिब्यून न्यूज
वीरगन्ज, २५ फागुन । निजगढमा एक युवकको हत्या भएको घटनामा एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले शंकास्पद एकजना व्यक्ति पक्राउ परेको तर, अनुसन्धान भईरहेकोले अहिले नै नाम सार्वजनिक भने नगर्ने बताउनुभयो । पक्राउ परेका व्यक्तिको अनुसन्धनका क्रममा संलग्नता रहेको हो होईन भन्ने यकिन भएपछि मात्रै उनको नाम सार्वजनिक गर्ने प्रहरी नायव उपरीक्षक गौतमले बताउनुभयो ।
आज बिहान बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको छ ।घटनास्थलमा रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका उनी निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।
आज बिहान खाजा पसल खोलेकाहरुले माथिल्लो तलामा हल्लाखल्ला सुनेको र कोही व्यक्ति भर्याङबाट ओर्लिएर बाइक स्टार्ट गरेर भागेको देखेको बताएका छन् । सो सूचनापछि घटनास्थलमा पुगेको प्रहरीले माथिल्लो तल्लामा रोहितको मृत शरीर फेला पारेको थियो ।