दुई सुरक्षा संगठनले एकै दिन पायो नेतृत्व, धिरज प्रताप सिंह र राजु अर्याल आईजीपीमा नियुक्त  

दुई सुरक्षा संगठनले एकै दिन पायो नेतृत्व, धिरज प्रताप सिंह र राजु अर्याल आईजीपीमा नियुक्त  

वीरगन्ज । देशको दुई वटा सुरक्षा संगठनले एकै दिन नेतृत्व पाएको छ । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा सरकारले दुईजनालाई एकैदिन नियुक्त गरेको छ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।

सशस्त्र प्रहरीको प्रहरीको प्रमुखमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालयलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा  र अर्यालाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो ।

आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए ।

तर प्रधानमन्त्री देउवाले आईजीपी नियुक्तिबारे छुट्टै परामर्श गर्नुभएको थियो ।  विवादका कारण ११ बजे बस्ने भनेको मन्त्रपरिषद् बैठक दिउँसो १ बजे मात्रै सुरु भएको थियो । प्रहरी नियमावली–२०७१ को नियम ४१ मा एआईजीमध्येबाट ‘सरकारले उपयुक्त देखेका उम्मेवारलाई प्रहरी महानिरीक्षक’ मा बढुवा गर्न सक्ने भनिएको छ ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आइतबारबाट अवकाश पाउँदैछन् । आइतबारबाटै सिंहले प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीको महानिरीक्षक पदमा अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई बढुवा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि आजबाट पूरा हुँदै छ ।

उहाँ भोलिबाट अवकाशमा जानुहुने भएको छ । गत वैशाख ४ गते अर्याल एआईजी बढुवामा सिफारिस हुनुभएको थियो । अर्यालले वैशाख १४ गते एआईजीको दर्ज्यानी चिह्न पाइसक्नु भएको थियो ।

२०५४ चैतमा सेवा प्रवेश गरेका अर्याल अहिलेकै कानुनी प्रावधान रहे २०८३ सम्म नेतृत्वमा रहनु हुने छ। प्रहरी महानिरीक्षकको कार्यकाल ४ वर्षको रहने व्यवस्था छ ।