कक्षा १२ को परीक्षा स्थगित हल्ला मात्रै 

कक्षा १२ को परीक्षा स्थगित हल्ला मात्रै 

वीरगन्ज, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । परीक्षा स्थगित भएको भनेर आएका हल्लाको पछि नलाग्न आग्रह गर्दै बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले निर्धारित मिति मै परीक्षा हुने भएकोले अन्योलमा नपर्न आग्रह गर्नुभएको छ । 

स्वास्थ्य मन्त्रालयले सोमबार कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले परीक्षा भर्चुअल वा भौतिक कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरेको थियो । स्थगित गर्नका लागि प्रस्ताव पनि गरेको थियो । तर, बोर्डले भौतिक रुपमै परीक्षा हुने जनाएको छ ।  गएको जेठ २६ गतेका लागि तय भएको परीक्षा बोर्डले आउँदो ३१ गतेदेखि गर्ने गरी यसअघि नै तालिका सार्वजनिक गरिसकेको छ ।

परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको र तालिका फेरबदलको कुनै सूचना नआएकाले विद्यार्थीलाई अलमलमा नपर्न राष्ट्रिय परीक्षा वोर्डको आग्रह छ । परीक्षामा स्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने र एक बेन्च एक विद्यार्थी राखेर भौतिक उपस्थितिमै परीक्षा लिने गरी तयारी भइरहेको पनि शर्माले जानकारी दिनुभयो । यसवर्ष परीक्षामा झण्डै तीन लाख ८६ हजार विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।