अभिभावकले विद्यार्थीहरुबाट सिक्नुपर्ने कस्तो समाज ? 

अभिभावकले विद्यार्थीहरुबाट सिक्नुपर्ने कस्तो समाज ? 

वीरगन्ज, ४ जेठ । बालबालिकाको पहिलो पाठशाला घर हो । उनीहरुको शिक्षक घरका अभिभावक सदस्यहरु हुन् । घरबाट पाएको ज्ञान, शिक्षा, संस्कारबाट नै उसले विद्यालयमा पुगेर थप ज्ञानहरु हासिल गर्छ । घर परिवारसँग सिकेका असल र राम्रा कुराहरुबाट प्रेरित भएर नै उसले विद्यालयमा प्राप्त ज्ञानबाट थप बौद्धिक विकास गर्न सक्छ । कतिपय विषयका ज्ञानहरु विद्यार्थीबाट सिक्नुपर्ने कुरा बेग्लै हो । तर, आफ्नै छोराछोरी सरहका विद्यार्थीहरुबाट सडकमा ट्राफिक नियम पालन गर्नुपर्छ भनेर सिक्नुपर्ने हाम्रो समाज कति सभ्य होला ? यो गम्भीर प्रश्न उठेको छ ।

घरमा सिकाएका राम्रा र असल बानी व्यहोरा विद्यालयमापनि होस र विद्यालयबाट थप ज्ञानका कुरा सिकेर बालबालिका समाजमा अब्बल होस भन्ने अभिभावकको अपेक्षा हुन्छ । सबै अभिभावकहरुको सोच प्रायः त्यहि नै होला ! तर, हामी सडकमा हिड्दा भने फेरी तिनै हामीले घरमा सिकाएका बालबालिकाहरुबाट सिक्नुपर्ने अवस्था आउछ भने हामीले हाम्रा बालबालिकाहरुबाट गरिएको अपेक्षा कति पूरा होला ?

बालबालिकालाई मद्यपान, धुम्रपान गर्नुहुदैन, चोरी गर्नु हुदैन, झुठ बोल्नु हुदैन, ठूलालाई सधैं आदर सम्मान र सानालाई माया गर्नुपर्छ भनेर सिकाउने अभिभावकहरु सडकमा सवारी चलाएर हिड्दा होस या पैदल सडक पार गर्ने बेलामा होस तीन अभिभावकले अर्ती र उपदेश दिएका बालबालिकाहरुबाट सिक्नुपर्ने अवस्था रहने हो भने हामी कति जिम्मेवार अभिभावक छौं ? आफैमाथि एकपटक घोत्लिएर सोचौं त ?

समाजमा हुने गरेका अनेक विकृति, विसंगती, कुप्रथा, कुसंस्कारहरु त छदैछ घरबाट बाहिर हिडेपछि सवारी चलाउँदा वा सहर बजारको व्यस्त सडकमा पालना गर्नुपर्ने ट्राफिक नियमको सम्बन्धमा हामी अभिभावकहरु कति इमान्दार छौं भन्ने कुरा हो । बजारमा अस्तव्यस्त ट्राफिक व्यावस्थापनका लागि ट्राफिक प्रहरीले जनचेतनाको नाममा विद्यार्थीहरुलाई प्रयोग गर्ने गरेको छ । विद्यार्थीहरुले घरमा अभिभावकहरुलाई सम्झाउछन्, सिकाउछन् सचेत हुन्छ भनेर विद्यार्थीलाई खटाउनु ठिकै होला !

तर, अभिभावक आफैले घरमा सिकाउने विद्यार्थीबाट यस्ता सामान्य कुराहरुको पालना गर्न सडकमा आफ्नै बालबालिकाहरुलाई उभ्याउनुपर्ने अवस्था चाहिँ किन आयो ? कस्ले बाध्य बनायो ? अभिभावकहरुले सोचेका छन् ? घरबाट असल र ज्ञानी बन्नु भनेर विद्यालय पठाउने बालबालिकाले सडकमा बसेर नियम पालना गर्नुस् भनेर आग्रह गरिरहेको देख्दा अभिभावकहरुले किन सोच्दैनन् ? समाजमा हुने हरेक किसिमका सामाजिक, आपराधिक घटना न्यूनीकरणका लागि विद्यार्थीहरुलाई जागरुक बनाउने गरिन्छ ।

तर, फेरी त्यहि विद्यार्थीहरुको घर, परिवार, समाजमा भने त्यस्ता घटनाहरु भईरहेका हुन्छन् । यो विद्यार्थीले नजानेर भएको हो ? वा समाजका अभिभावक भनाउँदाहरुले गम्भीर रुपमा नसोचेर हो ? तपाँई एउटा जिम्मेवार अभिभावकले कुनै अर्को बालबालिकाको लागि सोच्नुहुन्न भने तपाँईको बालबालिकाको लागि अर्को अभिभावकले कसरी सोच्ने ? आजभोलीका बालबालिका अथवा विद्यार्थीहरुले उठाएका आवाजहरु समाजका अगुवा भनाउँदाहरु, अभिभावक भनाउँदाहरुले नै सुन्दैनन् भने अनि परिवर्तन कसरी सम्भव हुन्छ ?

तपाँईको मात्रै बालबालिकाले समाजमा राम्रो, असल र इमान्दार बनोस भन्ने होईन, सबैको बालबालिका राम्रा, असल, इमान्दार बनोस, परिवार, समाज र देशका लागि केही गरोस भन्ने चाहाना राखे मात्रै समाजमा परिवर्तन आउन सक्छ । होईन भने विद्यार्थीबाट नै अझै अभिभावकहरुले सिक्नुपर्ने अवस्था रहीरहने हो भने परिवर्तन शुन्य हुन्छ ।