रिलिफ सोसाईटी अफ कमर्सद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान 

रिलिफ सोसाईटी अफ कमर्सद्वारा विभिन्न व्यक्तिहरुलाई सम्मान 

वीरगन्ज, ६ फागुन । रिलिफ सोसाईटी अफ कमर्सले प्रदान गर्दै आएको ‘बिहारीलाल लाठ कर्मवीर सम्मानपत्र’ बाट यसपटक संगीतकार गणेश परियारलाई दिईएको छ । त्यस्तै महिला सशक्तिकरण सम्मान पोखरिया नगरपालिकाकी पूर्व उपप्रमुख सलमा खातुन र भोजपुरी लोक संरक्षणका लागि ढोडा मियाँ तेली (सलिम) लाई प्रदान गरिएको छ ।

रिलिफ सोसाईटी अफ कमर्सका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर दीपक शाक्यले परियार, सलमा खातुन र सलिम मियाँलाई सम्मान गर्नुभएको हो । यस्तै कार्यक्रममा विभिन्न समुदायका १७ जना विपन्न महिलाहरुको आयआर्जनका लागि १७ वटा शिलाईकटाईको मेशिन पनि प्रदान गरिएको संस्थाका सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष गणेश लाठले जानकारी दिनुभयो ।

स्वर्गीय बिहारी लाल लाठको ११औं पुण्य तिथिको अवसरमा समाजका उद्यमशील महिलाहरुलाई स्वरोजगारको लागि राधादेवी वृजलाल लाथ ट्रष्ट वीरगन्ज नेपाल र श्री लोकनाथ टीवडेवालको सौज्नय र सहयोगद्वारा सिलाई मेशिन वितरण गरिएको हो । कार्यक्रममा नेकपा एमाले बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनाली, पर्साका सांसद प्रभु हजरा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादवले स्वागत, बरिष्ठ उपाध्यक्ष नारायण रुङगटाले धन्यवाद र  सञ्चालन महासचिब निरज अग्रवालले गर्नुभएको थियो ।