पर्सेली जनताले “छाता छापमा” मतदान गर्ने यादवको दावी
वीरगञ्ज, २७ असोज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ एमाले जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादवले जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गर्नुभएको छ ।
यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने बताउनुभएको हो । पाँच वर्ष सांसद्का रुपमा मैले क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको र जनताको आवश्यकता तथा चाहना अनुसार सडकदेखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धितर्फ अगाडि लिएर गएकोले यसको मूल्याङ्कन गरेर जनताले आफूलाई जिताउने उहाँको विश्वास छ ।
क्षेत्र नम्बर १ का मतदाता जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले सांसद् जितेदेखि जनताकै बीचमा रहेर क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको र जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेकोले पनि आफूलाई मतदाताले मत दिने दावी उहाँको छ । पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनीहरु माथि नभएको पनि उहाँको जिकिर थियो ।