२७ बर्षीय युवकको हत्या अभियोगमा तीनजना पक्राउ, एकजना फरार
वीरगन्ज, १६ साउन । २७ बर्षीय युवकको हत्या अभियोगमा पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । सवारीचालक अनुमति पत्र लाइसेन्स बनाउन वीरगन्ज आएका काठमाण्डौका एक युवकको हत्या गरेको आरोपमा प्रहरीले वीरगन्ज ७ रामटोलका २५ वर्षिय राहुल महर्जन र २७ वर्षिय दिप लामा तथा बाराको फेटा ३ का २७ वर्षिय धनन्जय रजकलाइ पक्राउ गरेको हो ।
हत्यामा संलग्न रहेका भारत मोतीहारीका ३० वर्षिय रवि सर्राफ भने फरार रहेको प्रहरीले जनाएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १ घर भई हाल काठमाण्डौँको गोंगबु बस्ने २७ वर्षिय सुजन भन्ने ज्ञानु पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा उनिहरुलाइ प्रहरीले पक्राउ गरेको हो ।
लाइसेन्स बनाउन सुजन गत बुधबार वीरगन्ज आएका थिए । बिहीबार बिहान वीरगन्ज ७ रामटोल स्थित सडकमा उनि घाइते र अचेत अवस्थामा फेला परेका थिए । उपचारका लागि नारायणी अस्पतालमा पुरयाएपनि चिकित्सकले उनलाइ मृत घोषित गरेका थिए । प्रहरीका अनुसार, सुजनले लगाएको सुनको औंठी र सिक्री लुट्नका लागि उनकै साथीहरुले हत्या गरेका हुन् ।
वीरगन्ज आइपुगेको बुधवार राति सुजन, दिप लामाको कुम्हाल टोल स्थित घरमा साथीहरूसँग बसेर अबेर रातिसम्म बीयर खाएका थिए । बियर सकिएपछि थप बीयर किन्न जाने बहानमा बा २ ज ५७८५ नम्बरको कारमा सुजनलाइ लिएर उनका साथीहरुले रामटोलकै एकान्त स्थानमा लगेर घाँटी थिचेर हत्या गरि सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार रुपैया लुटेर फरार भएका थिए ।
हत्यामा संलग्न मध्येका ३ जनालाइ पक्राउ गरिएको र फरार रहेका भारतीय नागरिक रविको पनि खोजी भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।पक्राउ परेका तीन जना विरुद्ध कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको खनालले जानकारी दिनुभयो ।