भन्सार पास भएको भारतीय ट्रकमा एक करोड पाँच लाखको कपडा बरामद
ट्रिव्यून न्युज
वीरगन्ज, ११ चैत । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले एकीकृत भन्सार जाँच चौकी (आईसीपी) बाट धान लोड गरी भन्सार पास भएको ट्रकबाट एक करोड ५ लाखको अवैध कपडा बरामद गरेको छ । तिरुपती खाद्य तथा भूसा सप्लायर्सको नाममा पास भएको धान बोकेको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रकबाट गरिएको अवैध कपडा मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको हो ।
एकीकृत भन्सार जाँच चौकी आईसीपीबाट निस्किएपछि नियन्त्रणमा लिएको ट्रक र सामान सहित आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरीले राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको छ ।
अनुमानित ३० लाखको ट्रकमा ३ लाख मूल्य बराबरको धानको भन्सार पास जाँच छ । उक्त ट्रकबाट १ करोड ५ लाख मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।