जनता समाजवादी पार्टीका कार्यकताले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाए
वीरगन्ज, १८ जेठ । जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूह नेकपा एमालेको ओलीपक्षसँग सत्ता साझेदारीका तयार रहेको अवस्थामा उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । पर्साको १४ वटै पालिकामा मंगलबार जसपा उपेन्द्र र बाबुराम समूहले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघटनको असंवैधानिक कदम चालेको र त्यसलाई राष्ट्रपतिले साथ दिएको भन्दै जसपा यादव भट्टराई समूहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका हुन् । वीरगन्ज महानगरपालिकोृ बाईपासमा जनता समाजवादी पार्टीका नेताहरुले पुत्ला जलाएका छन् ।
पर्साका अन्य पालिकाहरुमा पनि जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएका छन् । उनीहरुले सरकार विरुद्ध चर्को नारावाजी समेत गरेका छन् । वीरगन्ज महानगरपालिकामा जसपाका युवा नेताहरु इश्वर यादव, तुफान फारुक अन्सारी, गौरव वर्मा लगायतका नेता कार्यकर्ताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाएको जसपा पर्साका सचिव तवरेज अहमदले जानकारी दिनुभयो ।