संविधान निर्माणको ६ बर्ष पूरा कार्यान्वयनमा अझै चुनौती कायमै 

संविधान निर्माणको ६ बर्ष पूरा कार्यान्वयनमा अझै चुनौती कायमै 
फाईल तस्वीर

वीरगन्ज, ३ असोज । नेपालका सबै क्रान्ति र आन्दोलनका प्राप्त उपलब्धीलाई संस्थागत गर्दै संविधान सभामार्फत ‘नेपालको संविधान’ जारी भएको दिनको सम्झनामा आज सातौे संविधान दिवस मनाइदैछ ।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् । नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानूनको शासन, कानूनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद रहेका छन् ।

संविधान जारी भएको ६ वर्षको अवधिमा संघ ,प्रदेश र स्थानीय तह सञ्चालनका निम्ति कयौं कानून अभावमा पनि कार्यसञ्चालनमा रहेका उल्झन समाधानको चुनौती कायमै छ । भ्रष्टाचार नियन्त्रण, बेथिति, विकास निर्माणका कार्य अघि बढाउनु, विदेशी लगानी मुलुक भित्राउनु सरकारका चुनौती हुन् । 

मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान : राष्ट्रपति विद्यादेवी भण्डारी 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान प्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुग्न गएको बताउनुभएको छ ।

सातौं संविधान दिवसमा आज शुभकामना दिँदै राष्ट्रपतिले ‘नयाँ संविधान जारी भएयताका वर्षहरूमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुग्न गएको छ’ भन्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा आवद्ध गर्न मार्गदर्शनसमेत गरेको राष्ट्रपतिको भनाइ छ।

समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् : उपराष्ट्रपति नन्द बहादुर पुन 


उपराष्ट्रपति नन्द बहादुर पुनले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफै जारी गरेको ऐतिहासिक दिन संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ को गौरवपूर्ण अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् राष्ट्रको निरन्तर समुन्नती तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

संविधानमार्फत हामीले संकल्प गरेको समृद्ध राष्ट्र र समतामूलक समाज निर्माणका लागि हाम्रो संविधानको पूर्ण पालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त हो ।

नयाँ संविधान जारी भएको ६ वर्ष पुगिसकेको सन्दर्भमा संविधान पालनमा केहीं चुनौती आए तापनि राष्ट्र सहि बाटोमा फर्किएर अगाडि बढिरहेको भन्दै यस अवसरमा संविधानको पूर्ण पालन, संरक्षण र संवर्धनका लागि सबै नेपालीमा आग्रह गर्नुभएको छ ।

संविधान गतिशील दस्तावेज भएकोले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने भएकोले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७८ ले संविधानको पूर्ण पालना गर्दै नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती, राष्ट्रिय एकताको सुदृढी र समतामूलक समाजसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।

संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न सरकार प्रयत्नशील : प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको बताउनु भएको छ ।

सातौं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले अनेक चुनौतीका बाबजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गरेका सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गर्नुभएको छ ।

साथै उनले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गर्नुृभएको छ ।

प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनु भएको छ ।