१५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय, पर्सामा डीसीएमसीको बैठक बस्दै

१५ दिन निषेधाज्ञा गर्ने मन्त्रिपरिषद्को निर्णय, पर्सामा डीसीएमसीको बैठक बस्दै

वीरगन्ज, १४ बैशाख । सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठक बस्नुभन्दा अघि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले ७ दिनको अवधि तोकेर बिहीवारदेखि निषेधाज्ञा गर्ने घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयहरुले ७ दिन निषेधाज्ञा गर्ने भने पनि सरकारले त्यो अवधि बढाएर १५ दिन पु¥याएकाले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै सरकारले सबै परीक्षा स्थगित गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णयलाई पारित गरेको छ । यस्तै सरकारले अर्को निर्णय नभएसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पहाडी क्षेत्रमा २ सय र सहरी क्षेत्रमा ५ सयभन्दा धेरै सङ्क्रमित हुने वित्तिकै निषेधाज्ञा लगाउने सीसीएमसीको निर्णयलाई पनि मन्त्रिपरिषद् बैठकले सदर गरेको छ ।

पर्सामा संकट व्यावस्थापन केन्द्रको बैठक बस्दै 

पर्सामा जिल्ला संकट व्यावस्थापन केन्द्रको बैठक आज बोलाईएको छ । आज मध्यान्ह १२ बजे जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्र (डीसीएमसी)को बैठक बोलाईएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले बैठकमा छलफल गरेर निषेधाज्ञाको विषयमा निर्णय लिने बताउनुभयो । निषेधाज्ञा लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको भएपनि पछिल्लो मन्त्री परिषदले गरेको निर्णयको आधारमा थप निर्णयहरु बैठकबाट हुने उहाँले बताउनुभयो । लकडाउन गर्नुपर्ने चौतर्फी माग भईरहेको भएपनि अहिले परिस्थिति हेरेर मात्रै लकडाउन गर्ने मनसायमा स्थानीय प्रशासन रहेको छ ।