नेपालमा मुटु रोगीको संख्या ५ गुणाले वृद्धि, जनचेतना भने कम
वीरगन्ज, १३ असोज । ’युज हर्ट टु कनेक्ट’ अर्थात् जोडिन मुटु प्रयोग गरौँ भन्ने नाराका साथ आज (बुधबार) विश्व मुटु दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।
दिवसका अवसरमा मुटुलाई स्वस्थ राख्ने उपायबारे चेतनामूलक कार्यक्रम हुने गरेपनि यसको पर्याप्त प्रचार प्रसार र जनचेतनामा अझै कमी देखिएको छ । विश्व मुटु दिवसको अवसरमा वीरगन्जमा निकालिएको जनचेतनामूलक र्यालीले पनि मुटु रोग सम्बन्धमा जनचेतना कम रहेको पुष्टि हुन्छ । मुटु मानव अंगहरु मध्य सबैभन्दा महत्वपूर्ण अंग हो ।
मुटुमा समस्या आएपछि मात्रै डाक्टरहरुले उपचार गर्ने हो । यसको बचाऊ भने व्यक्ति स्वयंले गर्नुपर्छ । तर, यसमा ध्यान नदिँदा वा जनचेतनाको कमीले पनि मुटुका बिरामीहरुको संख्या दिनानुदिन बढ्दो क्रममा छ । वीरगन्जमा निकालिएको जनचेतनामूलक र्यालीमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरुको मात्रै सहभागिता देखियो । यसमा हरेक मुटुहरुको उपस्थिति आवश्यक हो ।
राजनीतिक दलहरुले आयोजना गर्ने आमसभा, प्रदर्शन लगायतका कार्यक्रममा सयौं, हजारौं संख्यामा उपस्थिति हुने मुटु भएकाहरु आफ्नै मुटु सुरक्षित राख्नुपर्छ भन्ने चेतना चाहिँ किन जाग्दैन ? डाक्टर चिकित्सकहरुले रोगको समस्या भएपछि मात्रै उपचार गर्ने हो । तर, उपचार गर्न डाक्टरकोमा जानु अघि नै मुटु सुरक्षित राख्नुपर्छ भन्ने चेतना भने हरेक व्यक्तिमा हुनुपर्छ ।
वीरगन्जको घण्टाघरदेखि निकालिएको र्यालीमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी सहित चिकित्सक र स्वास्थ्यकर्मीहरु बाहेक अन्यको उपस्थिति नहुनुले राज्यले गर्ने प्रचार प्रसार र जनचेतनामा अझै कमी देखिएको हो । र्याली सहित समापन स्थलमा पुग्नु भएका नगर प्रमुख सरावगीले कोणसभामा बोल्दै मुटु रोगको विषयमा अझ बढी जनचेतना फैलान आवश्यकता औंल्याउनुभयो ।
उहाँले आधुनिक समाजमा खानपान र जीवनशैलीकै कारणले मुटुको समस्या धेरैमा देखिएको हुँदा स्वस्थ मुटुका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मुटु रोग विशेषज्ञ डाक्टर राधा भट्टराई, डाक्टर अभिषेक अर्याल लगायत विभिन्न अस्पतालका विशेषज्ञ डाक्टर र स्वास्थ्यकर्मीहरुको सभागिता रहेको थियो ।
कस्तो छ नेपालमा मुटुरोगको अवस्था ?
नेपालमा पछिल्लो समय अस्वस्थ तथा असन्तुलित खानपान, विलासी जीवन र लापरबाहीका कारण मुटु रोगका बिरामी बढ्दै गएका छन् । सरकारी तथ्याङ्क अनुसार नेपालमा कूल जनसंख्याको २५ प्रतिशत अर्थात झण्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित रहेका छन् । मुटु रोगीको संख्या नेपालमा १० वर्षयता ५ गुणाले बढेको छ ।
१०–१५ वर्ष अगाडि ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा अहिले युवा र बालबालिकालाई नै मुटु सम्बन्धी समस्या देखिन थालेको डाक्टरले बताएका छन् । धेरैले आफ्नो मुटुलाई माया गर्न नजान्दा रोगले च्यापेको मुटुरोग विशेषज्ञहरुको भनाई छ । खानपान र जीवनशैलीमा ध्यान दिए, वर्षमा एक पटक भए पनि स्वास्थ्य परीक्षण गरे मुटु रोगबाट बच्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको संख्या बर्सेनि साढे २ करोड पुग्ने अनुमान गरेको छ । नेपाल लगायतका विकासोन्मुख देशमा हृदयघात भएर ज्यान गुमाउनेको संख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालमा झण्डै ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप छ, भने २० प्रतिशतलाई कोलेस्टेरोल छ ।
यस्तै, १० प्रतिशतलाई मधुमेह छ । जाँड रक्सी तथा चुरोट सुर्ती नखाए, चिल्लो, पिरो, बोसो, भुटेका र तारेका खानेकुरा नखाए मुटुलाई जोगाउन सकिन्छ । हरियो सागपात धेरै खाने, प्रशस्त पानी पिउने, पोषणयुक्त सन्तुलित खाना खाने र दैनिक शारीरिक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्ने सकिने डाक्टरले बताएका छन् ।
यस्तै, अहिले कोरोना भाइरसको सङ्क्रमणका कारण मुटुरोग भएका बिरामी बढी समस्यामा परेका छन् । बेलैमा उपचार नपाउँदा केहीको ज्यान गएको छ । सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ बराबरको औषधि र उपचार निशुल्क गरेको छ ।