कोरोना संकट व्यावस्थापनको रकम नपाएपछि जिल्ला संकट व्यावस्थापन केन्द्रमा मेयर सरावगीको असन्तुष्टी
वीरगन्ज, ११ चैत । पर्सामा कोरोना संक्रमितको उपचारमा स्थानीय तहको सरकारले गरेको खर्च अस्पतालले नदिएको जिल्ला संकट व्यावस्थापन केन्द्रमा गुनासो गरेको छ । वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले नारायणी अस्पतालसँग कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्दा लागेको खर्च वीरगञ्ज महानगरपालिकले लिनुपर्ने भन्दै त्यो रकम अस्पतालले नदिएको संकट व्यावस्थापन केन्द्रको बैठकमा गुनासो आएको हो ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको बैठकमा महानगर प्रमुख विजयकुमार सरावगीले स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राख्दा महानगरपालिकाले गरेको खर्च अस्पतालले तिर्नुपर्ने भएपनि अस्पतालले अहिलेसम्म नदिएको बताउनुभयो । नगर प्रमुख सरावगीले स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीलाई क्वारेन्टिनमा राख्दा भएको खर्च ७२ लाख रुपैयाँ महानगरपालिकाले तिरेको भन्दै उक्त रकम फिर्ता गर्न माग गर्नुभएको थियो ।
महालेखा परीक्षकले त्यो रकम बेरुजु देखाएको भन्दै उहाँले अस्पतालमा रकम आइसकेपनि मेडिकल सुपरीटेण्डेण्टले नदिएकोमा असन्तुष्टि जनाउनुभएको हो । मेयर सरावगीले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायसँगको समन्वयमा गतबर्षको चैत अन्तिम सातादेखि साउन १८ गतेसम्म स्वास्थ्यकर्मीलाई होटल क्वारेन्टिनमा राख्दा लागेको खर्च महानगरपालिकाले तिरेको थियो । अहिले सम्बन्धित निकायसँग समन्वय गरेर रकम दिलाउन मेडिकल सुपरिटेन्डेन्ट डा. ठाकुरले पहल नगरेको उहाँको आरोप छ ।