औद्योगिक कोरिडोरमा कोभिड खोप उपलब्ध गराउन वीरगन्ज उद्योग वाणिज्य संघको माग

औद्योगिक कोरिडोरमा कोभिड खोप उपलब्ध गराउन वीरगन्ज उद्योग वाणिज्य संघको माग

वीरगञ्ज, २५ जेठ । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा कोभिड विरुद्धको खोप माग गरेको छ । नेपालको प्रमुख औद्योगिक कोरिडोर वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित साना, मझौला र ठूला गरि भण्डै १ हजार उद्योग प्रतिष्ठान रहेको र त्यसमा कार्यरत भण्डै एक लाख देखि एक लाख पच्चिस हजार कर्मचारी, कामदारहरु कार्यरत रहेकोले कोभिडको पहिलो र दोस्रो लहरको भयावह अवस्थाकाबीच पनि नियमित रुपमा उद्योग प्रतिष्ठानमा काम गरि रहेका कर्मचारी, कामदार, उद्योगी, व्यवासायीहरु कोरोना संक्रमणको जोखिम रहेकोले संघले खोप उपलब्ध गराउन माग गरेको हो । 

कोभिड–१९ को संक्रमण र यसको बढ्दो प्रकोपले वीरगञ्ज क्षेत्रमा जुन घनत्वमा प्रभावित रहेको छ त्यसको अनुपातमा मुलुकका अन्य शहरहरु कम प्रभावित रहेको तथ्याँकबाट पुष्टि भएकोले वीरगञ्ज र यस क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानमा कार्यरत कामदार, कर्मचारी र निजी क्षेत्रलाई तेस्रो भेरियन्ट आउनु पूर्वनै कोभिड खोप लगाउनु पर्ने अपरिहार्य भएकोले नीजि क्षेत्र, यस क्षेत्रमा संचालित उद्योग, व्यापार, व्यवसायलाई लक्षित गरि वीरगञ्ज उद्योग वाणिज्य सङ्घको समन्वय र सहकार्यमा वितरण गर्ने गरि त्यस मन्त्रलायबाट जिल्ला स्थित आफ्ना मातहतका कार्यालय मार्फत एक लाख खोप उपलब्ध गराई दिन संघका अध्यक्ष सुवोध गुप्ताले आग्रह गर्नुभएको छ । 


समयमै खोप उपलब्ध नभए खोप लगाउन नपाएकै कारण बाध्य भएर अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग, व्यवसाय बन्द गर्नु पर्ने अवस्था सृजना हुन सक्नेतर्फ सचेत गराउदै त्यसले आपूर्ति व्यवस्थापनमा पर्ने प्रतिकूल अवस्थाले मुलुककै आपूर्ति व्यवस्था असन्तुलित हुनेतर्फ समयमै गंभीर हुन आवश्यक रहेको पनि संघले जनाएको छ । 

कोभिड–१९ को तेस्रो भेरियन्ट संघारमै आई पुगेको संकेत चिकित्सक र जनस्वास्थ्य विज्ञहरुले दिई रहेको र यसको प्रभाव पछिल्ला भेरियन्ट भन्दा झन बढी हुनेछ भन्ने आँकलन भई रहेको अवस्थालाई गम्भिरता पूर्वक लिएर उद्योग, व्यापार, व्यवसाय क्षेत्रका उत्पादन, वितरण क्षेत्रमा कार्यरत तथा उद्योग व्यवसाय सञ्चालकहरु समेतलाई अग्रपंक्तिमा काम गर्नेहरु सरह नै प्राथमिकतामा राखेर खोप उवलब्ध गराउन संघले सरकारको ध्यानाकर्षण गराएको छ ।