वीरगन्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु
वीरगन्ज, १० बैशाख । वीरगन्जको नारायणी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका वढा नम्बर ७ का ४० बर्षीय पुरुष रहेको नारायणी अस्पतालको कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।
बैशाख ६ गते नारायणी अस्पतालमा भर्ना गरिएकोमा उनको शुक्रबार दिउँसो साढे चार बजे मृत्यु भएको हो । उनको ८ गते पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भेण्टिलेटरमा राखेर उपचार भईरहेको उनको शुक्रबार मृत्यु भएको हो ।
यो सहित नारायणी अस्पतालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि नारायणी अस्पतालमा ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।