वीरगन्जमा कोरोना संक्रमितको संख्या बढ्दै, अस्पतालको तयारी छैन
कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि नारायणी अस्पतालमा बेड अभाव हुने संभावना बढेको छ । अहिले ३१ जना अस्पतालमा भर्ना भएका छन् । थप संक्रमितहरुहरुको संख्या बढेमा अस्पताल अभाव हुने देखिएको छ । नारायणी अस्पताल बाहेक अहिले कुनै आईशोलेसन सेण्टर र क्वारिन्टनको व्यावस्था गरिएको छैन ।
वीरगन्ज, ११ बैशाख । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि नारायणी अस्पतालमा बेड अभाव हुने संभावना बढेको छ । अहिले ३१ जना अस्पतालमा भर्ना भएका छन् । थप संक्रमितहरुहरुको संख्या बढेमा अस्पताल अभाव हुने देखिएको छ । नारायणी अस्पताल बाहेक अहिले कुनै आईशोलेसन सेण्टर र क्वारिन्टनको व्यावस्था गरिएको छैन । आईशोलेसन र क्वाण्टिनको व्यावस्था गर्न स्थानीय तहको जिम्मामा छ ।
तर, अहिले अधिकांश होम आईशोलेसनमा बसेकाहरुको अवस्था के कस्तो छ ? कसरी बसेको छ ? भन्ने निगरानी गर्ने संयन्त्र बलियो नहुँदा होम आईशोलेसनमा बस्ने संक्रमितहरुबाट थप संक्रमणको जोखिम रहेको छ । जिल्ला कोभिड संकट व्यावस्थापन केन्द्रले होम आईशोलेसनमा बस्नेहरुको निगरानी सम्बन्धित स्थानीय तहको हो भनेको छ । स्थानीय तहमा भने वडा अध्यक्षहरुको जिम्मामा दिईएको छ । त्यसको बलियो संयन्त्र बनाएको छैन ।
नेशनल मेडिकल कलेजको बाबा होटलमा यसअघि संचालन गरिएको कोभिड अस्पतालको व्यावस्थाका लागि पत्र लेखेर स्वास्थ्य मन्त्रालयमा पठाएको भएपनि अहिलेसम्म त्यसको कुनै सुनुवाई भएको छैन । बाबा होटलमा संचालन गरिएको कोभिड विशेष अस्पतालको विषयमा पर्साका प्रमुख जिल्ला अधिकारीले पत्राचार गरेपनि त्यसको संचालनको कार्यविधि अहिलेसम्म नआएकोले अस्पताल स्थापनाको कुनै तयारी नगरिएको नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्दीन अन्सारीले बताउनुभयो ।
उहाँले कोभिड अस्पताल संचालनको लागि कार्यविधि सहित लिखित रुपमा सरकारले सम्झौता गरेमा संचालनमा कुनै समस्या नभएको बताउनुभयो । विगतमा संचालन गरिएको कोभिड अस्पतालको समेत अझै बक्यौता रहेकोले अब संचालन गर्दा कसले कति योगदान गर्नुपर्ने हो । कहाँ कति आर्थिक भार कसले बेहोर्ने हो त्यसको स्पष्ट लेखेर आएमा अस्पताल सञ्चालनका लागि जनशक्ति र पूर्वाधार संरचनाको अभाव नहुने अन्सारीले बताउनुभयो ।
सरकारले यसअघि प्रत्येक निजी अस्पतालले कूल बेडको २० प्रतिशत कोरोना संक्रमितलाई उपचार गर्नका लागि छुट्याउनुपर्ने निर्णय गरेको छ । तर, अहिले बयोधा अस्पताल बाहेक अन्य निजी अस्पतालमा कोरोना संक्रमित भर्ना गरिएको छैन ।
१५ दिनमा ७३३ जना संक्रमित, १० जनाको मृत्यु
वीरगन्जमा पछिल्लो दुइ हप्तामा ७३३ कोरोनाका संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि हिजो बैशाख १० गते सम्म १५ दिनको अवधीमा गरिएको परिक्षणमा ७३३ जनामा संक्रमण भेटिएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । उहाका अनुसार वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा चैत २७ देखि हिजो बैशाख १० गते सम्म १ हजार ४ सय ७८ जनाको परिक्षण गर्दा , ती मध्ये आधा जतिमा अर्थात ७ सय ३३ जनामा संक्रमण भेटिएको हो ।
वीरगन्जमा पछिल्लो दुइ हप्ता यता दिनहु हुदै आएको परिक्षणमा , जाँच गराएका मध्ये आधा जतिमा कोरोना संक्रमण भेटिने गरेको छ ।हिजो साँझ पनि वीरगन्जमा ८६ जना संक्रमित थपिएका छन् ।नारायणी अस्पतालको प्रयोगशालामा हिजो साँझ १३९ जनाको पीसीआर परिक्षण गर्दा ८६ जनामा संक्रमण भेटिएको हो ।ती मध्ये पर्सा जिल्लाका मात्रै ६७ जना छन् । बाराका १३ , रौतहटका ४ , महोत्तरी र धनुषाका १/१ जना पनि संक्रमण भेटिएको डाक्टर दासले बताउनुभयो ।यसअघि अस्तीराति पनि वीरगन्जमा ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालको प्रयोगशालामा अस्तीराति १३८ जनाको स्वाब नमूना परिक्षण गर्दा ७८ जनामा संक्रमण भेटिएको हो । ती मध्ये पर्सा जिल्लाको मात्रै ५७ जना थिए ।वीरगन्जको नारायणी अस्पतालमा अहिले ३१ जना संक्रमित उपचाररत छन् । ती मध्ये १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अन्य अधिकांशलाइ अक्सिजन लगाएर राखिएको डाक्टर दासले जानकारी दिए ।
कोरोनाको दोश्रो लहर शुरु भएयता कोरोना संक्रमणका कारण वीरगन्जमा १० जनाको मृत्यु भइसकेको छ । वीरगन्जको नारायणी अस्पतालमा ८ जनाको र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको हो । मृतक १० जना मध्ये पर्साका ७, बाराका २ र सर्लाहीका १ जना हुन् । हिजो पनि एक जनाको र अस्ती बिहीबार २ जना संक्रमितको मृत्यु भएको हो ।