मंगलबार नारायणी अस्पतालमा ३ जनाको कोरोना संक्रमणले मृत्यु 

मंगलबार नारायणी अस्पतालमा ३ जनाको कोरोना संक्रमणले मृत्यु 

वीरगन्ज, २८ बैशाख । नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासका अनुसार पर्साको जगरनाथपुरका एकजना, वीरगन्ज महानगरपालिकाका एकजना र बाराको बुनियादका एकजना गरी तीनजनाको आज मृत्यु भएको हो । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ का ३५ बर्षीय पुरुषको आज बिहान पौने पाँच बजे मृत्यु भएको छ ।

बैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको थियो । कडा निमोनियाका कारण दुवै फोक्सोले काम नगरेपछि उनको आज बिहान पौने पाँचबजेतिर मृत्यु भएको नारायणी अस्पतालका डाक्टर सरोजरोशन दासले बताउनुभयो । त्यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ९ का ५५ बर्षीय पुरुषको पनि आज मृत्यु भएको छ । बैशाख २१ गते नारायणी अस्पतालमा भर्ना गरिएको उनको त्यही दिन परीक्षण गर्दा कोरोना पोजिटिभ देखाएको थियो । उनको उपचारकै क्रममा आज बिहान २ बजेर १० मिनेटमा मृत्यु भएको डाक्टर दासले बताउनुभयो ।

यसैगरी बाराको बुनियादका ५५ बर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको छ । बैशाख २६ गते उनको त्यहिदिन एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । नारायणी अस्पतालमा उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर दासले बताउनुभयो । आज मात्रै कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको हो । वीरगन्जमा हिजो मात्रै कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ । हिजो नारायणी अस्पताल ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा ३ जना, वीरगन्ज हेल्थ केयर हस्पिटलमा १ जना र एडभान्स हस्पिटलमा १ जनाको मृत्यु भएको थियो । 

१५० जना संक्रमित थपिए 

पछिल्लो पटक नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एकसय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पर्साबाट संकलन गरिएको २८८ स्वाब नमूनाको पीसीआर परीक्षण गर्दा पर्साका ११० जना सहित १५० जना नयाँ संक्रमित थपिएका हुन् । १३४ जनाको पीसीआर र १६ जनाको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले बताउनुभयो । उहाँका अनुसार संक्रमित मध्य पर्साका ११० जना, ३३ जना बाराका, ४ जना रौतहट, २ जना सर्लाही र एकजना धनुषाका रहेका छन् । संक्रमितहरु ६ बर्षदेखि ८२ बर्ष उमेर समूहका रहेका छन् ।