माछापोखरीमा भएको भ्रष्टाचारको छानविन गर्न महोत्तरीका मत्स्य व्यवसायीको माग

माछापोखरीमा भएको भ्रष्टाचारको छानविन गर्न महोत्तरीका मत्स्य व्यवसायीको माग

वीरगन्ज, २३ साउन । धनुषाको माछापोखरी खन्दा भएको भ्रष्टाचार र अनियमितताको विरुद्ध छानविन गर्न माग गर्दै मत्स्य व्यवसायीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् ।

महोत्तरीमा २०७७ सालमा माछा पोखरी निर्माण गर्ने मत्स्य व्यवसायीहरुलाई अनुदान रकम प्राप्त हुनुपर्नेमा मत्स्य विकास कार्यालय महोत्तरीले नयाँ पोखरी निर्माणको लागि भन्दै आफ्ना नजिकको नातेदारको पूरानै पोखरी देखाएर अनुदानमा प्राप्त १ करोड १२ लाख ५० हजार रुपैंयाको अनियमितता गरेको दावी सहित मत्स्य व्यवसायी संघ महोत्तरीले अख्तियार दूरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीमा निवेदन दिएका छन् ।

संघका अध्यक्ष शेष यहया, उपाध्यक्ष लक्ष्मी नारायण यादव, सचिव रविन्द्र मुखिया लगायतका पदाधिकारीहरुले महोत्तरी जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख संजिप ठाकुर, कार्यालयका मत्स्य शाखा प्रमुख ज्योत नारायण गिरी, मत्स्य विकास कार्यालय धनुषा र कार्यालय प्रमुख जागेश्वर यादव विरुद्ध व्यावसायीहरुले अख्तियारमा उजुरी दिएका हुन् ।

अख्तियारमा दिएको उजुरीको प्रतिलिपि सहित कारवाहीको लागि ध्यानाकर्र्षण गराउन प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहलाई समेत दिएका छन् । उनीहरुले शनिबार मन्त्री साहलाई भेटेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजाको कार्यालयबाट अनुदान रकम पाउने व्यवसायीहरुले भेटनरी पशु सेवाबाट अनुदान रकम नपाउने व्यावस्था हुँदाहुँदै आफ्नो नजिकको व्यक्तिहरुलाई दुईवटै कार्यालयबाट अनुदान रकम वितरण गरेको दावी सहित छानविन गरी कारवाही गर्न उनीहरुले माग गरेका छन् ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै मन्त्री साहले छानविन गरी आवश्यक कारवाहीको लागि पहल गर्ने आश्वासन दिएको मन्त्री साहका सञ्चार संयोजक शिवम साहले जानकारी दिनुभयो ।