वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कार्तिक महिनामा ११८ वटा मुद्दा दर्ता गर्नुका साथै ७० लाख बढीको राजस्व छलीका सामान बरामद गरेको छ ।
कार्तिक महिनामा सम्पादित कार्यहरुको मासिक प्रगति विवरण सार्वजनिक गरेर कार्तिक महिनामा अनुसन्धान, शान्ति–सुरक्षा, राजश्व चुहावट नियन्त्रण तथा समुदाय–केन्द्रित सचेतनामा उल्लेखनीय उपलब्धि हासिल भएको जनाएको छ।
११८ मुद्दा दर्ता, ८५ जना फरार प्रतिवादी पक्राउ
कार्तिक महिनामा पर्सा प्रहरीले विभिन्न अपराध सम्बन्धी कुल ११८ वटा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ।
जसमध्ये ज्यान सम्बन्धी ११, चोरी सम्बन्धी ८, आत्महत्या सम्बन्धी ८, संगठित तथा आर्थिक अपराध २२, सामाजिक अपराध ४९, महिला तथा बालबालिका सम्बन्धी ४, र सवारी ज्यानका २ वटा मुद्दा रहेका छन्।
गम्भीर अपराधतर्फ कर्तव्य ज्यान, हातहतियार र मानव बेचबिखनका १(१ वटा तथा बैंकिङ कसूरका १४ वटा मुद्दा दर्ता भएका छन्।
यसैगरी, अदालतको फैसला कार्यान्वयन अभियान अन्तर्गत प्रहरीले विभिन्न मुद्दाका ८५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। उनीहरूबाट कुल २५ वर्ष १० महिना ३ दिन कैद सजाय भुक्तान गराउनुका साथै रु। ३२ लाख ७ हजार ६ सय ३२ जरिवाना असुल गरिएको छ।
रु. ७० लाख बढीको भन्सार छली सामग्री बरामद
राजश्व चुहावट र सीमावर्ती अवैध व्यापार नियन्त्रणमा पर्सा प्रहरीले आक्रामक कदम चालेको छ। कार्तिक महिनामा भन्सार छली गरी भित्र्याइएका रु. ७० लाख ७० हजार ७ सय ९६ बराबरका अवैध सामानहरू बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
यसैगरी, प्राकृतिक सम्पदाको अवैध दोहन रोक्न सञ्चालित अभियानका क्रममा ढुंगा, बालुवा र गिट्टी उत्खनन तथा ओसारपसारमा संलग्न १० वटा ट्याक्टर नियन्त्रणमा लिई रु.५० हजार जरिवाना गराइएको छ।
अवैध वन पैदावार चोरी पैठारीतर्फ ३९ क्यावििक फिट काठ र १० वटा सवारी साधन नियन्त्रणमा लिई रु. १ लाख ९५ हजार राजश्व जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिएका छन् ।



